लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनीक

  • २४ असार २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2329 पटक पढिएको

म्याग्दी, २४ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न भुगर्वबिद र प्राबिधीक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आईतबार सार्वजनीक गरिएको छ ।स्टे«न्थ डेभलपर्स प्रा.लीले स्थलगत र प्रबिधिको प्रयोग गरेर धौलागिरी गाउँपालीकाको २ नम्बर वडामा पर्ने लुलाङ देखि गुर्जा जोड्ने सुरुङमार्गको भौगोलिक, वातावरणीय, प्राबिधिक, सामाजिक, आर्थिक विषयमा सम्भाव्यता अध्ययन गरेको थियो ।

सुरुङ मार्गका पाँच वटा विकल्प सहितको प्रतिवेदन तयार पारिएको ईञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । सबैभन्दा लामो पाच किलोमिटर पाँच सय मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दुरीको सुरुङ बनाउन सकिने ईञ्जिनियर गौतमले जानकारी दिएका थिए । छोटो दुरीको मानिएको लुलाङको जरेओडार देखि गुर्जातर्फको लत्रवाङ जोड्ने सुरुङ बनाउन अहिलेको बजार मूल्य अनुसार दुई अर्ब छ करोड रुपैया लागत अनुमान गरिएको छ । लामो दुरीको सुरुङ मार्ग बनाउदा जलविद्युत आयोजनामा समेत प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।

दरखोलालाई गुर्जा र गुर्जा खोलालाई दरखोलाा मिसाएर सुरुङ मार्गमा आवत जावतको सुबिधाका साथै जलविद्युत उत्पादनमा पनी उपयोग गर्न सकिने विकल्प दिइएको छ । प्रतिवेदन सार्वजनीक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले सडक, सुरुङ, केबुलकार मध्य कुनै एक माध्यमबाट गुर्जालाई जोड्नुपर्ने आवश्यकता रहेको औलाउँदै पर्यटन, जलविद्युत, वनपैदावारको उपयोगको बहुउद्देश्य राख्नुपर्ने सुझाव दिएका थिए ।

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । सम्भाव्यता प्रतिवेदन सहित डिपीआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकासंग प्रस्ताव गरिने गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताईन ।

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तिन हजार ४०० मिटर उचाईको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ ।

भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारी साधन आवत जावत गर्ने, नभए पैदल मार्फत आवत जावत गर्नका लागि भएपनी सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाई छ ।

सन्तोष गौतम