लघुवित्तका कर्मचारीलाई ऋणीले थुनेपछि ………..
- १८ असार २०७५, सोमबार
- 2741 पटक पढिएको
म्याग्दी, १८ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ऋणी खोज्दै पुगेका एक लघुवित्त संस्थाका कर्मचारीलाई ऋणीले केही घण्टा थुनेको रहस्य बाहिर आएको छ । समुह मार्फत ऋण लगेर किस्ता समयमै नतिरेपछि ताकेता गर्दै गाउँमा पुगेका जनसेवी लघुविक्त वित्तिय संस्था दरबाङका दुई कर्मचारीलाई रुमकी बिमला रोकाले केही घण्टा कोठाभित्रै थुनेकी हुन् ।
संस्थाको केन्द्र नम्बर ४ समुहमा आबद्ध रहेकी रोकाले संस्थाबाट रु १ लाख कर्जा लिएको र समयमै कर्जा नतिरेपछि ताकेताको लागि गाउँमै पुगेका शाखा प्रवन्धक मुक्ति सुवेदी र कनिष्ट सहायक विपिका घर्ति सहित समुहका ७ जना महिला समेतलाई उनले छलफल चलिरहेकै अबस्थामा बाहिरबाट चापी लगाएर थुनेकी थिईन् ।
अघिल्लो महिनाको १६ गते बुझाउनुपर्ने किस्ता समेत नतिरेको र यो महिनाको समेत किस्ना तिर्न नआएपछि ऋणी खोज्दै लघुवित्तका कर्मचारी रुम पुगेका थिए । समुहका अन्य सदस्यहरुको नामबाट लिइएको ऋण समेत आफैले प्रयोग गरेको पाईएको र किस्ता तिर्नको लागि ताकेता गर्न पुग्दा उल्टै दुव्र्यवहार भएको सो लघुवित्तका कर्मचारीहरुले गुनासो गरे ।
तालिम केन्द्रको उपल्लो कोठामा ऋण लगेका समुहका सदस्यहरुसंगको छलफल चलिरहेको अबस्थामा रोकाले बाहिरबाट चाबी लगाएर करिब साढे १ घण्टा थुनेकी थिइन् । पछि समुहका अन्य एक सदस्य आएर ढोका नै फोरेर उनीहरुलाई बाहीर निकालेका थिए । उक्त घटनापछि वडा कार्यालयको रोहोबरमा आईतवार भएको छलफलपछि सो वित्तिय संस्थाबाट ऋणी लगेकी रोका लगायतले निश्चित समयभित्रै आफुले लगेको ऋणको बाँकी किस्तालाई फिर्ता गर्ने लिखित समझदारी भएको बुझिएको छ । लघुवित्त संस्थाहरुले समुह मार्फत बचत संकलन तथा समुहकै जमानीमा ऋण लैजानेको आफन्तलाई धन जमानी राखेर विना धितो रु १ लाख सम्म ऋण दिने गरेका छन् ।