जनताको गुनासो सुन्न अदिभारामा सार्वजनिक सुनुवाई

  • १५ असार २०७५, शुक्रबार
  • 1806 पटक पढिएको


म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे अदिभारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको भरपर्दो व्यवस्था, रोजगारमुलक कार्यक्रम, गुणस्तरीय शिक्षा र विद्युत्को व्यवस्था गर्न माग गरेका थिए । पर्याप्त कर्मचारी नहुँदा भनेको समयमा काम नहुने, भुक्तानी प्रक्रिया ज्यादै झन्झटिलो भएको भन्दै उनीहरुले गाउँपालिकाको सेवालाई थप प्रभावकारी र छरितो बनाइनुपर्नेमा जोड दिए ।


कार्यक्रममा वडाका अगुवा पदम बहादुर पुनले दरबाङ–अदिभारा हुदै डाँडागाउँ जोड्ने सडकलाई गौरबको आयोजना समावेश गर्न माग गरे । मोहनराज सापकोटाले स्थानीयस्तरमै रोजगारीको व्यवस्थाका लागि संभावनाको खोजी गर्न आग्रह गर्दै जडिबुटी, वनजँगलको अधिकतम प्रयोगको नीति अबलम्बन गरिनुपर्नेमा जोड दिए । लाल प्रसाद विक, भीमप्रसाद नगरकोटीले राष्ट्रिय प्रशारण लाइनको पहुँच भन्दा बाहिर रहेको डाँडागाउँमा जतिसके छिटो उक्त सुविधा पु¥याउनुपर्ने माग गर्दै अदिभाराको तटबन्धलाई उपयुक्त बजेट विनीयोजन गर्न आग्रह गरेका थिए ।

स्थानीयको प्रश्नको जवाफ दिदै गाउँपालिका प्रमुख श्री प्रसाद रोकाले चालु आबमै दरवाङ–अदिभारा–डाँडागाउँ सडक जोडिएको भन्दै त्यसको स्तरोन्नतिका लागि ध्यान दिईने बताए । रोजगारीको अवसर सिर्जनाका लागि स्थानीय उद्यमीहरु तयार पार्नुपर्ने भन्दै त्यसका लागि पर्याप्त बजेट विनीयोजन गरिने बताए । त्यस्तै, गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले हरेक वडालाई समेट्न गौरबको आयोजना तयार पारिएको भन्दै आगामी बर्ष त्यसको उत्कृष्ट परिणाम देखिने बताइन् ।
वडा सचिब श्रीराम शर्माले चालु आर्थिक बर्षमा वडा कार्यालय मार्फत सञ्चालित योजना र त्यसको उपलब्धीबारे जानकारी गराएका थिए । वडा नं ३ का कार्यबाहक अध्यक्ष ओम बहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय यामबहादुर विश्वकर्माले स्वागत गरेका थिए । संगम म्याग्दीका सहजकर्ता हिरा शर्मा संघर्षले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण पत्रकार घनश्याम खड्का र ठाकुर प्रसाद आचार्यले गरेका थिए ।