बेनी नगरपालिकाद्धारा करिब ५४ करोड बजेट पारित, गौरबका योजनालाई प्राथमिकता
- १३ असार २०७५, बुधबार
- कमल खत्री
- 1697 पटक पढिएको
म्याग्दी, १३ असार । बेनी नगरपालिकाको तेस्रो नगरसभा मार्फत करिब ५४ करोडको बजेट पारित भएको छ । असार १० गतेको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को लागी प्रस्तुत गर्नुभएको रु ५३ करोड ८९ लाख १३ हजार बराबरको बजेट बुधवार बसेको नगर सभाले स्विकृत गरेको हो । नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले केन्द्रिय सरकारबाट वित्तिय समानीकरणको रु १७ करोड ५१ लाख, १३ हजार, सशर्त अनुदान ३१ करोड ३३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान रु १ करोड ९२ लाख र आन्तरिक आम्दानी २ करोड ८३ लाख र जिम्मेवारी सरेर आएको रु ३० लाख रकमलाई समावेश गरि बजेट निर्माण गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवत्ता बराईलीले चालुतर्फ कुल रु ३७ करोड ६६ लाख र पूँजीगत तर्फ रु १६ करोड २३ लाख १३ हजार बजेट विनियोजन गरिएको बताउनुभयो । नगरपालिकाले आर्थिक विकास तर्फ रु १ करोड, बन बातावरण तथा विपद व्यवस्थापनमा रु ५० लाख, शुसाशन तथा संस्थागत विकासमा रु १ करोड ४२ लाख, विक्तिय व्यवस्थापन तथा सेवा प्रवाहमा रु २५ लाख १३ हजार, पूर्वाधार विकासमा ४ करोड ५० लाख विनियोजन गरेको जनाएको छ । त्यसैगरि हरेक वडामा रु ५० लाखको दरले रु ५ करोड बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता बराईलीले बताउनुभयो । त्यस्तै समपुरक कोषमा रु १ करोड ८१ लाख छुट्टाईएको छ ।
नगरपालिकाले गौरबका योजनाहरुतर्फ पुलाआश्रम र आँपारुखमा रामायण पार्कको लागि रु ४२ लाख, खुला मञ्च खेलमैदानको लागि रु ५५ लाख, लभ हिलको लागि रु ५८ लाख बजेट विनियोजन गरेको प्रवक्ता बराईलीले जानकारी दिनुभयो । त्यसैगरि नगरपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा जगन्नाथ मन्दिर रहेको गाजनेमा भ्यू टावरको लागि रु ५ लाख, स्वर्गाश्रमको लागि रु ५ लाख, फनपार्कको लागि रु ५ लाख र गुफा राम मन्दिरको लागि रु ५ लाख बजेट समेत विनियोजन गरेको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले बेनी–पात्लेखेत सडकलाई प्रदेश सरकार मार्फत रु ५० हजार विनियोजन भएको र सो सडकलाई थप बजेट व्यवस्थाको लागि संघिय सरकारमा समेत पहल भैरहेको जानकारी दिनुभयो । सो कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले हरेक वडातहलाई सहज रुपमा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई प्राथमिकतामा राखेर योजनाहरु छनौट गरिएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भुषालले नगरसभाले आब २०७५/०७६ को लागि खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र बेनी नगरपालिकाको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको ऐनलाई समेत नगरसभाले पारित गरेको जानकारी दिनुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l