चार वर्षसम्म लगातार दूध दिने भैसी !
- १ असार २०७५, शुक्रबार
- सन्तोष गौतम
- 4672 पटक पढिएको
बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटे पानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक रिजालले बताउनुभयो ।
रिजालले बागलुङबाट किनेर ल्याएको लिमे पारकोटे जातको उक्त भैसीले चौथो पटक ब्याएको थियो । सुरुमा दैनिक चार लिटर दूध दिएको भैसीले गत मंसिर सम्म डेढ लिटर दूध दिने गरेको थियो । अहिले दैनिक एक लिटर दूध दिईरहेको रिजाल दम्पत्तीले बताउनुभयो । दुई दशकदेखि भैसीपालेर दूध बिक्री गरी जिविकोपार्जन गर्दै आएका कृषक रिजाल दम्पत्ती लगातार चार वर्षसम्म भैसीले दूध दिएको देख्न अचम्ममा परेको बताउनुहुन्छ ।
बेनी नगरपालीकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक जिवन आचार्यले हर्मोनको असन्तुलनका कारण लगातार दूध दिने र राँगो नखोज्ने गरेको हुन सक्ने बताउनुभयो । केही पशुहरुमा यस्तो असामान्य समस्या देखिने उहाँले बताउनुभयो ।