ठुलो बगरमा सार्वजनिक सुनुवाई : अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिमा एकजुट हुने प्रतिबद्धता
- २६ जेष्ठ २०७५, शनिबार
- 3105 पटक पढिएको
म्याग्दी, २६ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सरोकारवालाहरुले विकास निर्माणमा पारदर्शीता र प्रभाबकारीता बनाउँदै गाउँपालिकाको विकास र समृद्धिमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले शुक्रवार वडा नम्बर २ ठूलोबगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि र कर्मचारीहरुले समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाभित्र रहेका आन्तरिक आम्दानीका स्रोतहरुको सहि उपयोग र संरक्षण गर्न, प्राविधिक जनशक्तिलाई थप गरि विकास निर्माणलाई तिब्रता दिन, भुकम्प पिडित आवास पुननिर्माण कार्यमा देखिएको समस्या हल गर्न, कृषि र पशुपालनको क्षेत्रमा अनुदान र बजारको व्यवस्था गर्ने कार्यक्रम ल्याउन ध्यानकर्षण गराएका थिए ।
वडा नम्बर १ दोबा र वडा नम्बर २ भुरुङ तातोपानी तथा वडा नम्बर ६ पाेखरेबगर क्षेत्रका स्थानीयबासी र सरोकारवालाहरुको सहभागीता रहेको सो कार्यक्रममा स्थानीयबासीले योजना तर्जुमा गर्दा जनताको व्यापक सहभागीता गराएर जनताको अपेक्षा बमोजिमको योजना निर्माण र बजेट व्यवस्था गर्न समेत माग गरेका छन् ।
कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, उपाध्यक्ष केशमायाँ तिलिजा, गाउँपालिका मातहतका विकास समितिका संयोजक, कृषि शाखा संयोजक गोपाल भट्टराई, पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार राय, स्वास्थ्यसेवा संयोजक समुन्द्र बरुवाल, स्रोत व्यक्ति जयराम सुवेदी , वडा नं १ का अध्यक्ष दिलिप कुमार गर्वुजा र २ का वडा अध्यक्ष ओमप्रसाद फगामीले आ–आफ्नो क्षेत्रको जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष क्या. पुनले आगामी बजेटमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर उपलब्धीमुलक योजना तर्जुमा गर्ने तयारी गरेको बताउँदै २ लाख रुपैयाँ भन्दा न्यून लागतका योजनालाई स्वीकृत नगर्ने बताउनुभयो । ‘जहाँ पनि देखिने काम हुनुप¥यो, त्यसैले सबै वडाहरुलाई झिनामसिना योजना नबनाउन निर्देशन दिएको छु’, उँहाले भन्नुभयो, ‘शिक्षा क्षेत्र मेरो पहिलो प्राथामिकतामा हो, त्यसमा तपाँईहरुले साथ दिनुपर्छ ।’
चालु आर्थिक बर्षमा कक्षा १ सम्म अनिवार्य अँग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको भन्दै अध्यक्ष पुनले टेलिटिचिङको अवधारणा अघि सारिएको बताउनुभयो । ‘उच्च गतिको इन्टरनेट मार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्ने प्रविधि नै टेलिटिचिङ हो’, उहाँले भन्नुभयोे, ‘यसका लागि हामीले १० लाख रुपैयाँ बजेट विनीयोजन गरिसकेका छौँ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सवैको सामुहिक प्रयासमा शान्ति सुरक्षा,विकास निर्माण र सुव्यवस्था कायम गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष केसमायाँ मगरले जनस्तरबाट स्तरीय योजनाहरु बनाउन सकेमा मात्रै उपलब्धीमुलक क्षेत्रमा बजेट विनियोजन हुने उल्लेख गर्दै आगामी बर्षको योजना तर्जुमालाई प्रभाबकारी बनाउन सबै सरोकारवालाहरुलाई रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचनले गाउँपालिकाको आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान र उपयोगका लागि ऐन निर्माणको तयारी भएको बताउँनुभयो । त्यस्तै सुशासन तथा सेवा प्रवाह विकास समितिका संयोजक गम बहादुर फगामीले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न र जनताका गुनासाहरु सुन्नको लागि गाउँपालिकाले ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले चालु आर्थिक बर्षमा गाउँपालिकाको बजेट खर्च र योजनाहरुको बारेमा जानकारी गराउँदै सार्वजनिक सुनुवाई मार्फत योजना, सेवाप्रवाहको गुनासा संकलन सहित स्थानीयको अपेक्षा पनि बुझ्न सहज भएको बताउनुभयो ।
गाउँपालिकाले म्याग्दी मिडिया सोसाइटीसँगको सहकार्यमा अायाेजना गरेकाे उक्त कार्यक्रम वडा नम्बर २ का अध्यक्ष ओमप्रसाद फगामीको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको स्वागत र नायब सुब्बा कुलप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार कमल खत्री र धु्रबसागर शर्माले सार्वजनिक सुनुवाईको सहजीकरणमा गर्नुभएको थियो । कार्यक्रममा वडा १ का सचिब गोविन्द्र सुवेदी र २ का सचिब खेमराज शर्माले चालु आर्थिक बर्षमा वडाबाट भैरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।