क्यान्सर पिडित विकले गरे अस्पतालको शैयाबाटै सहयोगको याचना
- १९ जेष्ठ २०७५, शनिबार
- 2859 पटक पढिएको
म्याग्दी, १९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका रक्त क्यान्सर पिडित सोमबहादुर विकले आफ्नो जिवन रक्षाको लागि सहयोगको याचना गर्नुभएको छ । हाल पोखरामा उपचाररत ३२ बर्षिय विकले आफ्नो उपचारमा ठुलो खर्च लाग्ने र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि सक्दो सहयोगको लागि अस्पतालको शैयाबाटै याचना गर्नुभएको हो ।
वैदेशिक रोजगारिबाट घरविदामा आएको समयमा स्वास्थ्य परिक्षण गर्दा रक्त क्यान्सर भएको थाहा पाएपछि विक परिवार चिन्तामा परेका छन् । गत चैतमा रक्त क्यान्सर भएको थाहा पाएपछि अस्पतालमै उपचार गराइरहेका विकको उपचारमा लाखौँ खर्च भैसकेको छ ।
घरपरिवारबाट विकको जिवनरक्षाको लागि अपिल भएपछि मलेसियामा समेत आर्थिक संकलन गरि उपलब्ध गराईएको र उहाँको उपचारार्थ आर्थिक संकलन भैरहेको त्यहाँबाट सपना गौतमले जानकारी दिनुभयो । उहाँले विकको उपचारको लागि सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।
बोनम्यारो पत्यारोपण गरि उपचार गर्न ठुलै खर्च लाग्ने अस्पताल प्रशासनबाट जानकारी आएपछि थप खर्च जुटाउन विकको परिवार समस्यामा परेको अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य समेत रहनुभएका दानाका थमबहादुर विकले बताउनुभयो ।
उहाँको पहलमा विभिन्न क्षेत्रबाट सहयोग जुटाउने पहल भैरहेको छ । वैदेशिक रोजगारिबाट जिविकोपार्जन गर्दै आएका विकका श्रीमती सहित चार छोरीहरु रहेका छन् । घरमुली नै विरामी भएपछि विक परिवार यतिबेला समस्यामा परेका छन् ।