मराङमा जडीबुटी खेती तालिम सम्पन्न
- १९ जेष्ठ २०७५, शनिबार
- 2472 पटक पढिएको
मराङ १९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा जडीबुटी खेती तालिम सम्पन्न भएको छ । वडा नम्बर ५ मल्कबाङ र ६ मराङका स्थानीयलाई जडीबुटी खेतीतर्फ लाग्न प्रेरित गर्ने उदेश्यले एक सातासम्म आयोजित तालिममा सतुवा, टिमुर लगायत पहाडी भेगमा पाईने जडिबुटीहरुको बारेमा सहजीकरण गरिएको थियो ।
धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा भएको तालिममा २७ जनाको सहभागीता रहेको थियो भने तालिममा मलम्पारकी ६० बर्षिय ज्येष्ठ नागरिक नरदेवी छन्त्यालले समेत सक्रिय सहभागीता जनाउनुभएको थियो ।
मराङका वडा अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष लिलादेवी पुन, होमदेवी क्षेत्री, जिल्ला बन कार्यालयका रेन्जर नर बहादुर क्षेत्रीले सहजीकरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष पुन, तालिम संयोजक क्षेत्री, जिल्ला बन कार्यालयका रेन्जर नर बहादुर क्षेत्री, सहभागी युवा चक्र पुन, लालकुमारी छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैबिच मराङमा लघुउद्यमीहरुको लागि सचेतना अभिबृद्धी तालिम समेत सम्पन्न भएको छ । धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा व्यवसाय सुरु गर्न चाहने लघुउद्यमीहरुको लागि व्यवसाय सचेतना तालिम सञ्चालन गरिएको हो । तालिममा मराङ, मल्कबाङ, मलम्पार र भेडीखाल्डा लगायतका बासिन्दाहरुले सहभागीता जनाएका थिए ।