शिशु कल्याण माविको स्वर्णजयन्तीः विद्युतिय पुस्तकालय र अक्षयकोष स्थापनाको लागि चन्दा संकलन अभियान
- १८ जेष्ठ २०७५, शुक्रबार
- 3070 पटक पढिएको
म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० गते हुने कार्यक्रमको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयका भुपु विद्यार्थीहरुले विद्युतिय पुस्तकालय तथा अक्षयकोष स्थापनार्थ चन्दा संकलन अभियान समेत सुरु गरिएको छ । अहिलेसम्म ६ लाख बढी चन्दा सहयोग रकम संकलन भैसकेको छ चन्दा संकलन समितिका आर्थिक संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, स्वदेश तथा विदेशमा रहेका विद्यालयका भुपु विद्यार्थिहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यसैबिच २० गते हुने समारोहको तयारीलाई समेत तिब्र पारिएको छ । उक्त कार्यक्रममा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत राख्ने तयारी गरिएको छ । कार्यक्रममा चर्चित गायक खडका गर्वुजा, राम गगन, दिलु बुढाथोकी, दुर्ग रोका, प्रकाश दुतराज, विकास फगामी, दुर्गा बुढाथोकी लगायतका कलाकारहरुको साँगेतिक प्रस्तुती रहने जनाइएको छ ।