मंगलामा मेलमिलाप सम्बन्धी तालिम सुरु
- १७ जेष्ठ २०७५, बिहीबार
- 2262 पटक पढिएको
प्रताप बानियाँ / म्याग्दी, जेठ १७ – पश्चिम म्याग्दीको मंगला गाउँपालिकाकाको सदरमुकाम बाबियाचौरमा बिहीबारदेखि मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । समाजमा घट्ने घटनाको न्युनीकरण गर्न गाउँपालिकाको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले वडा तहका समस्या समाधान गर्ने उद्देश्यसहित मेलमिलापसम्बन्धी विषयमा तालिम आयोजना गरिएको बताए । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले न्यायिक समितिमार्फत द्वन्द्वको समाधान गर्ने प्रयास गरिएकोमा तालिमले थप सहयोगको भूमिका खेल्ने बताइन् । तालिमको अधिवक्ता ममतादेवी शर्मा र मेलमिलापकर्ता मुक्ति ढुङ्गानाले सहजीकरण गर्ने भएका छन् । आगामी २४ गतेसम्म चल्ने तालिममा स्थानीय तहमा हुने झैझगडाको समाधान, मेलमिलापसम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास समेत गरिने भएको छ ।
तालिममा मंगला गाउँपालिकाका जनप्रतिनिधि र वडा सचिव गरी ३२ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता, कार्यकारी सचिव राजेन्द्र आचार्यको सञ्चालन र न्यायिक समिति सदस्य चक्रलाल पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।