मंगला गाउँपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण
- १७ जेष्ठ २०७५, बिहीबार
- 3949 पटक पढिएको
म्याग्दी १७ जेठ । कृषि उपजको उत्पादन वृद्धी र लागत घटाउने उद्देश्यले म्याग्दीको मंगला गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकहरुलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । कृषि विकास, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशु विकास कार्यक्रम अन्तरगत औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख निरञ्जन तिवारीले बताउनुभयो ।
२० वटा मिनीटेलर हलो, ५ वटा मकै छोडाउने मेसीन, ६० वटा बिउ सुकाउने त्रिपाल, ४० वटा पलास्टीक टनेल, १५ वटा स्प्रे टंकी (बिषादी राखेर छर्कने भाडो) र २ वटा चेप कटर वितरण गरिएको तिवारीले बताउनुभयो । मंगलाको कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका कृषकहरुबाट आवेदन संकलन गरी उनिहरुले माग गरे अनुसारका सामान खरिदमा अनुदान उपलब्ध गराइएको गाउँपालीकाले जनाएको छ ।
५० थान मौरी घार, ३ वटा पावर टिलर खेत जोत्ने आधुनिक हलो समेत वितरणको कार्यक्रम रहेको छ । बाबियाचौरको माटेबगरमा बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु पौडेल, २ नम्बर वडाका अध्यक्ष धनबहादुर खाती र ५ नम्बर वडाका अध्यक्ष भुपेन्द्र केसीले औजार वितरण गर्नुभएको थियो ।
खाद्यबालीको विउ, तरकारी र फलफुल खेती तथा गाईभैसी र बाख्रापालनको प्रचुर सम्भावना रहेको मंगलालाई सम्बृद्ध बनाउन ब्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । चालु आर्थिक वर्षमा कृषि र पशु विकास क्षेत्रमा एक करोड ९ लाख रुपैया बिनियोजन गरेको मंगलाले कृषकलाई अनुदानका लागि करिब चालीस लाख रुपैया हाराहारीमा बजेट छुट्टाएको छ ।
यसैबीच मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा १५ दिने मौरीपालन सम्बन्धि तालीम सञ्चालन भएको छ । गाउँपालिकाको कृषि विकास शाखा, सिप विकास केन्द्र पर्वत र जागरण सामुदायीक विकास केन्द्र पोखराको आयोजनामा जेठ १३ गतेदेखि सुरु भएको तालीममा २० जनाको सहभागीता रहेको छ ।