रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन

  • १७ जेष्ठ २०७५, बिहीबार
  • गोपाल छन्त्याल
  • 3292 पटक पढिएको

म्याग्दी, १७ जेठ । निर्माण सम्झौता भएको पाँच महिनापछि ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनामा ठेकेदार परिचालन भएको छ । वि.स २०७१ सालमा सम्पन्न गर्ने उद्देश्यका २०६७ सालदेखि निर्माण सुरु भएको रघुगंगामा भारतीय ठेकेदार कम्पनी आइभीआरसियलले काम गर्न नसकेपछि आयोजना अलपत्र बनेको थियो । नेपाल विद्यूत् प्राधिकरणले भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा बनाउन लागेको आयोजनामा ठेक्का रद्द गरि नयाँ प्रक्रियामा जाँदा २ बर्ष लम्बिएको थियो । नयाँ टेण्डर मार्फत पजयप्रकाश एसोसिएट्स निर्माणको जिम्मा लिएको छ । प्राधिकरण र एसोसिएट्स बीच गत मंसिर ७ गते निर्माण सम्झौता भएपनि बैंकले पाँच महिनासम्म स्वीकृति नदिएपछि अन्र्योलता सिर्जना भएको थियो । 

रघुगंगा हाइड्रो लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीराम पाण्डेले प्राधिकरण र नयाँ ठेकेदार बीचको सम्झौतालाई बैंकले स्वीकृती प्रदान गरेको जानकारी दिए । ‘गत जेठ ९ गते बैंकले सम्झौतालाई स्वीकृती दियो । त्यसपछि हामीले ठेकेदारलाई ‘नोटिस टु प्रोसेस’ लेटर पनि दियौँ’, उनले भने, ‘सोही दिन देखि नै उसले काम सुरु गरेको छ ।’ प्राधिकरणले पुरानो ठेक्का रद्द गरेसँगै ३२ मेगावाटको क्षमतालाई बढाएर ४० पु¥याउने र कम्पनी संरचनाबाट निर्माण गर्ने निर्णय गरेको थियो । ‘सोही बमोजिम अहिले यो आयोजना रघुगंगा हाइड्रो लिमिटेड कम्पनी मातहतमा बन्दैछ ।

]यसका प्राधिकरणसँगै स्थानीय पनि साझेदार बन्न पाउने व्यवस्था मिलाएका छौँ’, प्रमुख पाण्डेले भने, ‘यसले स्थानीयस्तरमा आयोजना प्रति अपनत्व पनि बढ्छ ।’ उनका अनुसार, एक्जिम बैंकले ६ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । ८ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना ४५ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, पाँच महिना विभिन्न प्रक्रियामै अल्झिएको छ । आइभीआरसियले सातबर्षमा आयोजनाको बाँधस्थल सम्म पुग्ने सडकको ट्रयाक, आवास गृहका भवन र ६५ मिटर सुरुङ खन्ने मात्र काम गरेको छ । बाँधस्थल, विद्युतगृह र ४ किलोमिटर भन्दा बढी सुरुङ खन्ने काम भने सुरु भएकै छैन् । यी कार्यहरुका लागि १ अर्ब भन्दा बढी खर्च भएको उसले दाबी गरेको छ ।

रघुगंगा गाउँपालिकाको दग्नाम र झिँ वडाको सीमानामा बाँध रहने आयोजनाको पानी ७.२ किलोमिटर सुरुङ मार्ग मार्फत ल्याएर पिप्ले घुमाउनेताल नजिकै विद्युतगृहमा ल्याएर विद्युत उत्पादन गर्ने योजना छ । आयोजनाको सिभिल अथवा हाइड्रो मेकानिकलको जिम्मा एशोसिएट्सले पाएपनि इलेक्ट्रो मेकानिकलतर्फको निर्माणका लागि जेठभित्र ठेक्का आह्वान गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रशासकीय अधिकृत काशीनाथ दाहालले आयोजनाका लागि ठेकेदार कम्पनीका कर्मचारीहरुले दुई महिनाअघि देखि तयार भएपनि स्वीकृती पत्र नहुँदा कार्यक्षेत्रमा नखटिएको जानकारी दिए । ‘पहिलाको भन्दा अहिले काम गर्ने नियतका साथ आएको देखिन्छ, उनीहरुले सम्झौता भइसकेपछि तत्कालै कार्यक्षेत्रमा खटेका छन्’, उनले भने, ‘आवश्यक कच्चा पदार्थहरुका लागि स्थानीयस्तरमा छलफल गर्दैछौँ ।’ आयोजनाले तीनै वडाका १ सय ९४ रोपनी निजी जग्गा अधिग्रहण गरिसकेको छ । रघुगंगाबाट उत्पादिन विद्युत् सरकारले अहिले निर्माण गरिरहेको २२० केभीए कालीगण्डकी करिडोर प्रसारण लाइन अन्र्तगत दाना–खुर्कोट सबस्टेसनमा जोडिने छ ।

गोपाल छन्त्याल