आमा समूहद्धारा सामुदायीक भवन निर्माण
- १५ जेष्ठ २०७५, मंगलवार
- सन्तोष गौतम
- 1941 पटक पढिएको
बेनी १५ जेठ । बेनी नगरपालीका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायीक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानिया र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो ।
तत्कालीन सांसद विकास कोषको एक लाख र बेनी नगरपालीकाको दुई लाख रुपैया अनुदान सहित सात लाख रुपैयाको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो । भवन निर्माणका लागि महतले ८० हजार सहयोगको घोषणा गर्नुभएको छ ।
३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीले छ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो । ७० जना क्षमत्ताको भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोह लगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बानियाले आमा समूहको विकास निर्माण र सामाजिक गतिबिधिमा बढेको सक्रियताबाट आफू उत्साहीत भएको बताउनुभयो । उहाँले महिलालाई साक्षरता, सचेतना, आत्मनिर्भर, ब्यवसायीक, रोजगार उन्मुख बनाउन सहयोग गर्ने समूहसंग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा चन्दादाता र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।