बेनीका औषधी पसलमा छड्के अनुगमन : औषधी विक्रिमा मनोमानि

  • १४ जेष्ठ २०७५, सोमबार
  • धिरन खत्री
  • 2745 पटक पढिएको

म्याग्दी, १४ जेठ । बेनीमा संचालीत औषधी पसलहरुले मनोमानी तवरले औषधी वितरण गरिएको पाईएको छ । औषधी ब्यवस्था विभाग काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय म्याग्दीकोे संयोजनमा सोमबार गरिएको छड्के अनगुमनमा अधिकाश औषधी पसलहरुले विक्रि वितरण गर्दा विलको प्रयोग नगर्ने, बास्तविक मूल्य भन्दा चर्को मूल्य लिने गरेको भेटिएको हो ।

औषधी पसल अनुगमन क्रममा ग्राहकबाट औषधीमा तोकिएको मुल्य भन्दा बढी लगाएर बेचिएको, विक्रि वितरण विल नभएको, विक्रि गरिएको औषधीको अपडेट नगरिएको, एउटै औषधीमा दुईथरि मूल्य टास गरिएको, औषधी पसलमा किराना लगायतका सामाग्री अनुगमनका क्रममा भेटिएको हुदाँ सचेत गराईएको विभागका फार्मेसी अधिकृत बुद्धिबल चिदीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा डाक्टरको सिफारित विना विक्रि वितरण गर्न नमिल्ने औषधी समेत राखिएको, लागु तथा मनोदिवक औषधीका रेकर्ड दुरुस्त नभएको, औषधीलाई असुरक्षित रुपमा भण्डार गरिएको भेटिएपछि तुरुन्त ब्यवस्थापन मिलाउन टोलीले सुझाव दिएका छन् ।

अनुगमनका क्रममा भेटिएका कमिकमजोरीबारे एकहप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन टोलीले निर्देशन दिएको छ । विभागबाट आएको टोली र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले बेनीका ११ ओटा औषधी पसलहरुको अनुगमन गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l