फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु

  • ११ जेष्ठ २०७५, शुक्रबार
  • 1735 पटक पढिएको

प्रताप बानियाँ
म्याग्दी, जेठ ११ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि गाउँपालिकास्तरीय फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तालिम सुरु भएको छ । ‘हामी सबैको एक्यबद्धता, पूर्ण सरसफाइमा प्रतिबद्धता’ भन्ने नारासहित मंगला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले फोहोरबाट मोहोर बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको बताए । उनले फोहोरको रुपमा फ्याँकिएका प्लाष्टिक, कागज, पत्रपत्रिका लगायतबाट विभिन्न किसिमका सामाग्रीहरु उत्पादन गर्न सकिने बताउँदै फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्नसके थुप्रै आम्दानी गर्न सकिने बताएका छन् ।

तालिमका प्रशिक्षक श्रीरेन्द्रप्रकाश पोखरेलले फोहोरबाट मोहोर, विकारबाट आकार र पिसाबबाट हिसाब निकाल्न सकिने भन्दै फोहोरबाट मनग्गे आम्दानी हुने बताएका थिए । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, कार्यकारी सचिव राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा धौलागिरि टेलिभिजन बागलुङका प्रवन्ध निर्देशक प्रकाश पौडेल र तालिमका सहायक प्रशिक्षक सङ्गिता पोखरेलको विशेष उपस्थिति रहेको थियो ।

आगामी पाँच दिनसम्म चल्ने तालिममा मंगला गाउँपालिका अन्तर्गत कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनसहित पाँचवटै वडाबाट १५ जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकद्वय श्रीरेन्द्र र सङ्गिता पोखरेलले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।