स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापन तालिम

  • १० जेष्ठ २०७५, बिहीबार
  • 1981 पटक पढिएको


प्रताप बानियाँ / म्याग्दी, १० जेठ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमङ्गलेमा महिला स्वास्थ्य स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । कुईनेमङ्गले स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।


शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वयंसेविकालाई तालिम दिइएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणको जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खानालगायत शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका विषयमा सहजीकरण गरिएको थियो ।

दुई दिनसम्म चलेको तालिममा ९ जना महिला स्वास्थ्यसेविकाहरुले सहभागिता जनाएका थिए । तालिमको कुईनेमङ्गले स्वास्थ्यचौकीका इन्चार्ज भविलाल खड्का, अहेव दिपेन्द्र बुढामगर र सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर टकमाया थजालीले सहजीकरण गरेका थिए । कार्यक्रममा रघुगंगा गाउँ कार्यपालिका सदस्यद्वय प्रिती गर्बुजा र यामकुमारी विकको उपस्थिति रहेको थियो ।
यसैबीच सोही अवसरमा समुदायमा आधारित नवजात शिशु तथा बालरोग व्यवस्थापन कार्यक्रमको स्थलगत भ्रमण गरिएको छ । कार्यक्रमको अवसरमा नवजात शिशु तथा बालरोग व्यवस्थापन तथा यसको उपचारका विषयमा स्वास्थ्यचौकीका कर्मचारी र स्वयंसेविकाहरुलाई सहजीकरण गरिएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका पोषण फोकल पर्सन भरतप्रसाद आचार्य, तथ्याङ्क सहायक बसन्तप्रसाद पोखरेल, रघुगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाही, सहसंयोजक शिवप्रसाद पाण्डे र सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरेका थिए ।