मोदीको स्वागतको लागि चिटिक्क प¥यो मुक्तिनाथ, सेताम्मे हिउँभित्रको मुक्तिनाथमा तयारी पुरा (फाेटाे फिचर
- २८ बैशाख २०७५, शुक्रबार
- 3293 पटक पढिएको
मुस्ताङ २८ वैशाख । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा चिनिने मुस्ताङको मुक्तिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पुरा भएको हाे। शनिवार विहान मुक्तिनाथमा हुन लागेको मोदीको धार्मिक भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाण्डौबाट हेलिकप्टर मार्फत मुस्ताङ आउने मोदीको स्वागतको लागि मुक्तिनाथ परिसर चिटिक्क परेको छ ।
मुक्तिनाथ क्षेत्र स्वागत गेट, झण्डा, तुलव्यानले झकिझकाउ देखिएको छ । मोदी भ्रमणको पूर्व सन्धयामा भएको बेमौसमी हिमपातले यतिबेला मुक्तिनाथ क्षेत्र सेताम्मे हिमालले घेरिएका डाँडाकाँडाले सुसज्जीत बनेको छ । मोदीको लागि सेताम्मे हिमालभित्र रहेको मुक्तिनाथको दर्शन गर्न पाउनु मौका जस्तै मिलेको छ ।
मोदीको मुक्तिनाथ भ्रमणलाई व्यवस्थित, मर्यादित र सुरक्षित बताउन सम्पूर्ण तयारी पुरा भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिविर पौडेलले जानकारी दिनुभयो । उहाँका अुनसार, भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिर परिसरमा हेलिकप्टर ल्याण्ड गरेपछि पैदल मार्फत मुक्तिनाथको दर्शन तथा पुजा गर्नुहुनेछ ।
मोदीको स्वागतको लागि मुक्तिनाथमा रहेका १ सय ८ धाराको सरसफाई ,तथा रङ रोगन लगाउने, मुक्तिनाथको बिशिष्ट कक्षको सरसफाई तथा मर्मत सुधार, हेलीप्याङहरुको निर्माण, मन्दिर परिशर भित्रको १ सय ८ पालाको काठ फेर्ने, शिला राखेको ठाउँमा प्लास्टर गरी रङ लगाउने ,शौचालयहरुको रङ रोगन तथा सरसफाई गर्ने, हेली प्याड देखि मन्दीर सम्मको बाटो मर्मत सुधार र मन्दीरको गेटलाई रङ रोगन लगाउने कामहरु गरिएका छन् ।
मोदीलाई मुक्तिनाथमा अभिनन्दन सहित सम्मान गरिने तयारी समेत गरिएको छ । नेपालको दुई दिने राजकिय भ्रमणको शिलसिलामा मोदीले शुक्रवार जनकपुरधाममा बिशेष पुजा गरिसक्नुभएको छ । बिहान करिब ८ बजे मुक्तिनाथ ओर्लने मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी र प्रदेश नं ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा स्वागत गर्नेछन् ।
त्यसपछि मुस्ताङका सांसद्, प्रमुख जिल्ला अधिकारी सहित गाउँपालिका अध्यक्षहरुले स्वागत गर्ने कार्यक्रम तय भएको छ । मन्दिरको मूख्य मण्डपमै पुजापाठको व्यवस्था मिलाईएको मोदीले आधा घण्टा पुजाअर्चना गर्ने बताईएको छ ।
तस्बिर राम थापाको फेसबुकबाट