म्याग्दीका ६ ठाउँमा लामो झोलुङ्गे पुलको अध्ययन गर्न सिफारिस
- २८ बैशाख २०७५, शुक्रबार
- 5205 पटक पढिएको
म्याग्दी, २८ वैशाख । पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणको लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीहरुलाई जोड्नको लागि लामो झोलुङ्गे पुल निर्माणको लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी , तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी , मौवाफाँट–पात्लेखेतमा लामो पुलको सम्भाव्यता अध्ययनको लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार, धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नको लागि समेत लामो पुलको सम्भाव्यता अध्ययनको लागि सिफारिस गरिएको छ ।
‘‘ अहिले यि ठाउँहरुमा वारपारको लागि घन्टौँको फेरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, अग्ला पुलहरुले एक आपसमा आवत जावतलाई सहज बनाउने भएकाले सम्भाव्यता अध्ययनको लागि सिफारिस गरेका हौँ’’–जिसस प्रमुख केसीले भन्नुभयो । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भैसकेको छ ।
दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारको लागि करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ । यस अघि जिल्लाको मौवाफाँटको थाकनको डिल देखि काउलेगौडाको फेदी , रत्नेचौर देखि बाग्लुङको कुँडुले र गलेश्वरदेखि राममन्दीर जोड्ने गरि लामो पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ ।