मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)
- २६ बैशाख २०७५, बुधबार
- कमल खत्री
- 3587 पटक पढिएको
म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४ लाख बढी सहयोग जुटाएर विद्यालय भवन पुनः निर्माण गरिएको हो ।
मंगलवार विद्यालयमा आयोजित एक समारोहका बिच तत्कालिन मल्कबाङ गाविसका पूर्व अध्यक्ष एवम समाजसेवी सुवेदार तुल बहादुर घ्याप्चन छन्त्याल, धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायत बरिष्ठ चन्दादाताहरुले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
तत्कालिन जिल्ला शिक्षा कार्यालयको ३ कोठे भवनको लागि विनियोजन भएको बजेटमा समुदायले लाखौँ आर्थिक संकलन कक्षा ५ सम्म पठनपाठन हुने गरि पूर्वाधार निर्माण गरेका छन् । भवन निर्माणमा थम बहादुर छन्त्यालले रु २ लाख र गर्भी छन्त्यालको स्मृतिमा उहाँका छोरा भक्त छन्त्याल र किसोर छन्त्यालले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।
मल्कबाङ केन्द्रिय समाजको पहल र युकेमा रहनुभएका शेर बहादुर छन्त्यालको बिशेष सक्रियतामा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट भवन पुनःनिर्माण र फर्निचर व्यवस्थापनमा रु १४ लाख बढी सहयोग जुटेको आर्थिक संकलन अभियानकी संयोजक एवम शिक्षक यानदेवी छन्त्यालले जानकारी दिनुभयो । पहाडलाई सम्याउनुपर्ने र यातयातको पहुँच नहुँदा ढुवानीमा बढी खर्च लागेको कारण विद्यालय भवनको लागत बढेको संयोजक छन्त्यालले बताउनुभयो ।
भवनको उद्घाटन गर्दै पूर्व अध्यक्ष सुवेदार तुलबहादुर घ्याप्चन छन्त्यालले गाउँको विकासको लागि स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीले देखाएको एकता प्रसंसनीय रहेको बताउनुभयो । उहाँले दुर्गम ठाउँमा रहेको विद्यालयका अन्य भवनहरु समेत जिर्ण रहेकाले विद्यालयको चौतर्फी विकासमा गाउँपालिका लगायतका सरोकारवालाबाट उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा धौलागिरि गाउँपालिका उपाध्यक्ष छन्त्याल र प्रमुख प्रशासकिय अधिकृत शर्माले सरकारी बजेटलाई सदुपयोग गर्दै समुदायको तर्फबाट भएको लगानीले विकास निर्माणको क्षेत्रमा नमुना भएको उल्लेख गर्दै सम्पूर्ण सहयोग दाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मल्कबाङ अन्र्तराष्ट्रिय समाजका सचिब थम बहादुर छन्त्याल , वडा अध्यक्ष खर्ककुमारी छन्त्याल, मल्कबाङ केन्द्रिय समाज पोखराका अध्यक्ष मिनबहादुर घ्याप्चन छन्त्याल, विद्यालयका प्रअ जाहुर आलम, पूर्व शिक्षक अमर छन्त्याल, रुपन्देही छन्त्याल महिला संघकी सचिव नन कुमारी खड्का छन्त्याल लगायतले सहयोग दाताहरुले समेत मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन प्रसाद गौचनको अध्यक्षता, शिक्षक लिला पाण्डेको स्वागत र मल्कबाङ समाज युकेका अध्यक्ष शेर बहादुर छन्त्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मल्कबाङ समाजले जेष्ठ नागरिकहरुलाई नगद रु १ हजार सहित सम्मान गरेको थियो भने विद्यालयको भवन पुननिर्माणमा सहयोग गर्ने दाता, विद्यालयका कर्मचारी एवम स्थानीय कला संस्कृति संरक्षणमा योगदान दिएका अग्रज कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।
उक्त भवन निर्माण अभियानमा स्वदेश र गाउँमै रहेका स्थानीयबासीसंगै युके, अष्टेलिया, जापान, कोरिया, अरब, मलेसिया लगायतका मुलुकमा रहेका मल्कबाङबासीले सहयोग गरेका छन् । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा २०५० सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको थियो ।
अहिले यस विद्यालयमा करिब २५० जना बालबालिकाहरु अध्ययनरत छन् । सो अवसरमा पुख्यौली नृत्य सहित स्थानीय कला संस्कृति र नृत्य समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा तीन जना पत्रकारलाई समते सम्मान गरिएको थियो ।
म्याग्दीअनलाईनका संयोजक देवान छन्त्याललाई सञ्चार क्षेत्रको तर्फबाट मल्कबाङको सम्भावना र समस्या उजागर गर्न उल्लेख्य भुमिका खेलेकोमा तथा म्याग्दी अनलाईनका सम्पादक कमल खत्री र पत्रकार सन्तोष गौतमलाई ग्रामीण पत्रकारीता मार्फत जिल्लाको विकासमा रचनात्मक भुमिका खेलेको भन्दै सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l