मगर राष्ट्रिय मुक्ति मोर्चा म्याग्दीको नयाँ नेतृत्व चयन

  • २३ बैशाख २०७५, आईतवार
  • 3814 पटक पढिएको

म्याग्दी, २३ वैशाख । नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । आइतवार बेनीमा सम्पन्न मोर्चाको जिल्ला भेलाले खिम बहादुर पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । सो भेलाबाट मोर्चाको जिल्ला उपाध्यक्षमा ओमबहादुर रोका, सचिबमा यामबहादुर रोका, कोषाध्यक्षमा पूर्ण पाईजा र सहसचिबमा पदम शेरपुञ्जा चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा मन बहादुर थापा मगर, नरबहादुर थापा मगर, कृष्ण पुन, धनबहादुर श्रीष, लाल बहादुर तिलिजा, भविन्द्र शेरपुञ्जा, प्रदिप पुन, रेशम पुन, रमेश पुन, कुलप्रसाद पुन र दलविर पुनलाई चयन गरेको छ । त्यसैगरि बेनी नगरपालिकामा नरबहादुर थापा, धौलागिरि गाउँपालिकामा कृष्ण पुन, मंगला गाउँपालिकामा मनबहादुर थापा, मालिकामा ओम बहादुर रोका, अन्नपूर्णमा लालबहादुर तिलिजा र रघुगंगा गाउँपालिकामा पदम शेरपुञ्जालाई संयोजक तोकेको छ ।

स्थानीय तहमा समेत मोर्चाको कमिटी विस्तारको लागि संयोजक तोकिएको मोर्चाका इन्चार्ज होमलाल पुनले बताउनुभयो । मोर्चाका संयोजक समेत रहेका इन्चार्ज पुनको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिट व्युरो सदस्य एवम जिल्ला संयोजक गोविन्द पौडेलले अहिलेको परिवर्तनका उपलब्धीहरु प्राप्त गर्नको लागि मगर राष्ट्रिय मुक्ति मोर्चाको भुमिका संघर्ष र योगदान उच्च रहेको स्मरण गर्नुभयो ।

उहाँले नेकपा माओवादी र एमाले बिचको पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै आदीबासी जनताजी, अल्पसंख्यक, विपन्न परिवार, उत्पीडनमा परेका समुदाय र बर्गको उत्थानको लागि माओवादी केन्द्र संधै अग्रपंतीमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व राष्ट्रिय पन्चायत सदस्य बलमान पुनले माओवादीको जनयुद्धको जगबाट नेपालमा आदीबासी जनताजीहरुको अधिकार सुरक्षित हुने अवस्थामा पुगेको बताउँदै अझैपनि अपुग अधिकारहरुको लागि आन्दोलन र संघर्ष जारी राख्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य चन्द्रप्रसाद बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य भुवन बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो भने खिमबहादुर पुनले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन याम रोकाले गर्नुभएको थियो ।