धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका ( भिडियाे सहित)

  • २३ बैशाख २०७५, आईतवार
  • गोपाल छन्त्याल
  • 3442 पटक पढिएको

म्याग्दी, २३ वैशाख । समुद्री सतहदेखि ३४ सय मिटरको उचाइमा अवस्थित मालिका धार्मिक पर्यटकीय गन्तव्यको विकास हुदै गएको छ । मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा पर्ने मालिकामा भगवान शिव र पार्वती घुमफिरका क्रममा पार्वतीको माला खसेको धार्मिक जनविश्वास छ ।


यससँगै थुप्रै देवीदेवताको तपोभूमी मानिने मालिकामा पुजापाठ र दर्शन गरे आफ्नो मनोकाँक्षा पूरा हुने विश्वासले चण्डी पूर्णिमा, तिहार, जनैपूर्णिमा लगायतका पर्वहरुमा भक्तजनको घुईचो लाग्ने गर्छ । उच्च स्थानमा अवस्थित रहेकाले धौलागिरि,नीलगिरि, अन्नपूर्ण लगायत दर्जन बढी हिमश्रृङखलाको दृश्यालोकन, गुरासेजँगल, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङजा जिल्लाका अधिकाँश क्षेत्रको अवलोकन गर्न पाइनु मालिकाको अर्को विशेषता हो ।

धार्मिक महत्वसँगै प्राकृतिक सुन्दरताले भरिएका कारण मालिकाधुरीमा चहलपहल बढ्दै गएको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । ‘यो पार्वतीले पाईला टेकको पवित्र ठाउँ हो, जहाँ हामी मालिकादेवीको बाश रहेको विश्वास गर्छौ । यहाँ दर्शन र पुजन गरि सन्तान प्राप्ति, सन्तानको सुख र समृद्धिसँगै वैदेशिक रोजगार पनि राम्रो हुने अनूभुति गरेका छौँ’, अध्यक्ष पाइजाले भने, ‘यहाँ आएपछि प्राकृतिक सुन्दरता अर्को विशेषता हो ।’ मालिकामा रघुगंगा गाउँपालिका ७पाखापानीस्थित ठाडाखानी, मालिकाको विम, दुखु र मंगलाको हिदी गरि चार स्थानबाट पुग्न सकिन्छ ।

चारैतर्फ व्यवस्थित पदमार्ग खुलाईएको छ । ठाडाखानीसम्म सडक सञ्जालको पहुँच रहेका कारण त्यहाँबाट तुलनात्मक रुपमा नजिक पर्छ ।
धार्मिक पर्यटकको चहलपहल बढेपछि विशेष पर्व बाहेक हरेक मंगलबार पुजा र दर्शनको व्यवस्था मिलाउन लागिएको अध्यक्ष पाइजाले जानकारी दिए । ‘यहाँ आएपछि सबैले आनन्दको महसुस गर्छन् अनि आफुले मागेको बर पनि पाइन्छ’, उनले भने । धौलागिरि गाउँपालिका ४ मुदी खिवाङबाट दुईदिन लगाएर दर्शनका लागि आएकी मिना कुमारी पुनले अनूभूति हुने गरि बरदान पाईएका कारण दोश्रो पटक दर्शन गर्न आएको बताइन् ।

‘यहाँ आउन मात्रै केहि कठिन छ । आइसकेपछि स्वर्ग जस्तै लाग्छ, पहिला आउँदा छोराछोरीको पढाइबारे भाकल गरेकी थिएँ, त्यहो पूरा भएपछि दोश्रो पटक आएकी हुँ’, उनले भनिन्, ‘धेरै यस्तो अनुभुति गरेको पाएँ ।’ मालिका विकास क्षेत्रका अनुसार, वि.स १९१० देखि मालिकामा पुजापाठको परम्परा सुरु भएको हो । २०२५ सालमा मन्दिर बनाईएपनि त्यो जीर्ण भएका २०६८ सालमा साविक जिल्ला विकास समिति र स्थानीयको श्रमदानमा आधुनिक मन्दिर बनाईएको छ । ठाडाखानी र बिमका स्थानीयले भक्तजनका लागि त्यहाँ पुग्ने भक्तजनका लागि धर्मशालाको निर्माण गरेपनि पर्याप्त नहुँदा भक्तजनहरु ओडारमा समेत बास बस्न बाध्य हुन्छन् ।

दर्शनका लागि अघिल्लो दिनै भक्तजन पुग्ने हुँदा बासका लागि केहि समस्या देखिएको विमका युवा चन्द्र जुग्जालीले बताए । ‘बिम र ठाडाखानीका समाजसेवीहरुले वाश घर र पानीको पनि व्यवस्था गर्नुभएको छ । तर, भक्तजनहरु भीड बढी रहने कारणले त्यो पर्याप्त छैन’, उनले भने, ‘उच्च स्थान भएका कारण हिउँद बर्खा सबै सिजनमा अत्याधिक चिसो हुन्छ ।’ चार गाउँका साथै, मुदी, कुईनेमँगले, ताकम, मल्कबाङ, बेनीबजार, घतान, धकिम्ली र पोखरा क्षेत्रबाट समेत भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेको अध्यक्ष पाइजाले जानकारी दिए ।

भिडियाेः  

गोपाल छन्त्याल