खाराका आगोलागी पिडितलाई घर हस्तान्तरण
- २२ बैशाख २०७५, शनिबार
- सन्तोष गौतम
- 2555 पटक पढिएको
म्याग्दी २२ बैशाख । मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पिडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईका परिवारलाई बरन्डा सहितको एक वटा कोठा भएको घर उपलब्ध गराइएको हो । वडा अध्यक्ष जुक्जालीको अध्यक्षता र कल्वका अध्यक्ष प्रेम जुक्जालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य बुद्धीबहादुर जुक्जाली, टोल सुधार समितिका अध्यक्ष यामबहादुर जुक्जाली, सचिव नरसिंह शेरपुञ्जा, किसानी माविको व्वस्थापन समितिका अध्यक्ष कलीप्रसाद जुक्जाली र मालिका आमा समूहका अध्यक्ष गितादेवी जुक्जाली लगायतको उपस्थिती रहेको थियो ।
घर निर्माणका लागि एक लाख ५३ हजार ३९७ रुपैया संकलन भएकोमा एक लाख १३ हजार ६७५ रुपैया खर्च भई बचत भएको ३९ लाख ७२२ रुपैया कल्वको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ । हङकङबाट तिस हजार २५, बिम समाज युकेबाट ४७ हजार ८१७, बिम समाज जापानबाट बिस हजार र बेल्जीयमबाट बिस हजार सहित अन्य विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको थियो । हस्तान्तरण कार्यक्रममा सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आम्दानी खर्च विवरण सार्वजनीक गरिएको थियो ।