शिख माविमा समुदाय, सरकार र दाताहरूकाे लगानीमा पूर्वाधार निर्माण धमाधम

  • २१ बैशाख २०७५, शुक्रबार
  • 2713 पटक पढिएको

म्याग्दी, २१ वैशाख । म्याग्दीकाे उत्तरी   अन्नपूर्ण गाउँपालिका –५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ब्रिटीस गोर्खा वेयलफेयरको सहयोगमा आठ कोठे र जिल्ला शिक्षा कार्यालयको सहयोगमा तिन कोठे कक्षा कोठा भवन निर्माण तिब्र रुपमा अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिसु बुद्धुजाले बताउनुभयो । वेयलफेयरका प्राबिधिकहरुको निगरानीमा दुई तले भवन निर्माण भैरहेको छ । भुकम्प प्रतिरोधी क्षमताको उक्त भवन निर्माणका लागि एक करोड तिस लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । सबै लगानी वेयलफेयरलेनै गरेर भवन बनाउन लागेको हो ।

यसैगरी गत वर्ष निर्माण भएको छ कोठे भवनमाथि शिक्षा कार्यालयको १६ लाख रुपैयाँ अनुदानमा तिन वटा कोठा थप गर्न लागिएको अध्यक्ष बुद्धुजाले बताउनुभयो । आगामी असार महिनाभित्रनै दुई वटै भवन सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्यलाई तिब्र बनाइएको छ । तिन वर्षअघिको बिनासकारी भूकम्पले विद्यालयको पुरानो भवन जिर्ण बनाएपछि पुननिर्माण अभियान थालीएको थियो ।

गत वर्ष निर्माण भएको छ कोठे भवनलाई जिल्ला शिक्षा कार्यालयले ३२ लाख, तत्कालीन शिख गाविसले आठ लाख ५० हजार र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख सहयोग भएको थियो । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने शिखमा भवन बनाउन सरकारी अनुदान अपुग भएपछि पोखरा, बेलायत, हङकङ, अमेरीका लगायत ठाउँमा बसोबास गर्ने शिखबासीहरु आवद्ध शिख्तानी समाजको पहलमा एक करोड चालीस लाख सहयोग जुटेकोमा ३३ लाख बचत भएको थियो ।

वि.स २०११ सालमा स्थापना भएको विद्यालयमा अहिले दुई सय विद्यार्थी अध्ययनरत रहेका प्रअ जगदिश आचार्यले बताउनुभयो । सुविधासम्पन्न भवन बनेपछि पठनपाठनमा सुधार आउने अपेक्षा गरिएको छ । यसअघि विद्यालयमा पूर्व विद्यार्थी तथा प्रवासीहरुको पहलमा खेलमैदान, कम्प्युटर ल्याब, सोलार जडान भएको थियो ।