युवालाई उद्यमी बनाउन सिप विकास तालिम

  • २० बैशाख २०७५, बिहीबार
  • 2647 पटक पढिएको


प्रताप बानियाँ /म्याग्दी, बैशाख २० – युवालाई सिप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सिप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुले सिप सिकेर व्यवसायमा लाग्नुपर्ने बताए । उनले युवाहरु विभिन्न पेशा, व्यवसाय र उद्यममार्फत अगाडि बढेमा देश समृद्ध बन्ने बताउँदै राज्यले गरेको लगानीलाई युवाहरुले सार्थक बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै कार्यालय प्रमुख घनश्याम पौडेलले सहभागीहरुलाई तालिममा सक्रिय रुपमा सहभागी भएर पूर्णरुपमा तालिम लिन आग्रह गरेका छन् । आगामी असार मसान्तसम्म चल्ने तालिममा १० जना युवाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षक मिना पुनले सहजीकरण गर्ने आयोजकले जनाएको छ । तालिम उद्घाटन कार्यक्रम जिल्ला युवा समितिका कम्प्युटर अपरेटर अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो ।