अन्नपूर्ण गाउँपालिकाको मुलपानीमा ग्राम उद्योग स्थापना गरिने
- १९ बैशाख २०७५, बुधबार
- गोपाल छन्त्याल
- 2545 पटक पढिएको
म्याग्दी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानी क्षेत्र ग्राम उद्योग स्थापनाका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको छ । प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आग्रह बमोजिम उद्योग स्थापनाका लागि मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको वैठकले मुलपानीमा ७ सय रोपनी जग्गा उपलब्ध गराउन सकिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिए ।
‘प्रदेश सरकारको आग्रह बमोजिम हामीले मुलपानी क्षेत्रमा रहेको समथर भाग छनौट गरेका छौँ । त्यहाँ नीजि र सरकारी गरि ७ सय रोपनी जग्गा व्यवस्थापन गर्न सकिन्छ’, उनले भने, ‘कस्तो किसिमको उद्योगहरु सञ्चालन गर्ने भन्ने विषयमा प्रदेश सरकारसँग समन्वयमा गर्नेछौँ ।’ औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने पानी, विजुली, सडक र भौतिक पूर्वाधा विस्तारका लागि मुलपानी सहज भएकोले उक्त निर्णय गरिएको हो । ‘अन्य स्थानका बारेमा पनि छलफल गरेका थियौँ तर, मुलपानी नै हरेक हिसाबले ठिक भयो’, उनले भने ।
कार्यपालिकाको वैठकले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि र शिक्षक नियुक्ती तथा सरुवा सम्बन्धि कार्यविधी सर्वसम्मत रुपले पारित गरेको छ । भारत सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदान गरेको एम्बुलेन्स गाउँपालिका मातहत सञ्चालन गर्न उक्त कार्यविधी पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले जानकारी दिए । ‘कार्यविधि पारित भएपछि दैनिक रुपमा एम्बुलेन्स सञ्चालन गर्न र विद्यालयहरुमा रिक्त रहेको दरबन्दीमा शिक्षकहरु नियुक्ती गर्न सहज हुनेछ’, उनले भने । गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले ग्राम उद्योगमा पर्यटनलाई बढी प्राथामिकता दिएर कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारलाई सिफारिश गरिएको जानकारी दिए ।