मल्कबाङ्गका खोल्साहरुमा कल्भर्ट पुल निर्माण सुरु

  • १३ बैशाख २०७५, बिहीबार
  • 2187 पटक पढिएको

म्याग्दी, १३ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका – ५ मल्कबाङ्ग गाउँभित्र रहेको खोल्साहरुमा वारपारको लागि कल्भर्ट पुल निर्माण गर्न थालिएको छ । गाउँपालिका मार्फत विनियोजन भएको रु १६ लाख ८० हजार बजेट मार्फत मल्कबाङ्ग गाउँभित्र रहेका खोल्साहरुमा ५ वटा कल्भर्ट पुल निर्माण गर्न सुरु गरिएको हो ।

दलमान छन्त्यालको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले श्रमदान समेत जुटाएर ढलान गरि पक्की कल्भर्ट निर्माण कार्यलाई तिब्रता दिएका छन् । अहिले सेराटोल र कालमाटीको खोल्सामा कल्भर्ट पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको योजनाका अनुगमन समितिका संयोजक अमर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, सेराटोलमा थप १ वटा , स्वास्थ्य चौकी र पोखरी नजीक रहेको खोल्सामा १÷१ वटा गरि ५ वटा कल्भर्ट पुल निर्माण हुनेछन् ।

कल्भर्ट नजीकै ढलान गरेको सिँढी सहितको बाटो समेत बनाईएको छ । अहिले बर्षादको समयमा अस्थायी साँघु बनाएर वार पार गर्नुपर्ने बाध्यता रहेकोले कल्भर्ट पुल निर्माण पछि भने विद्यालय र स्वास्थ्य चौकी लगायत समुदायमा आवत जावतमा सहज हुने अनुगमन समितिका संयोजक छन्त्यालले बताउनुभयो ।

यसैबिच, मल्कबाङ्गका बासिन्दाको पहलमा समेत हालै स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय रविन्स छन्त्यालको अगुवाईमा रु ६ लाख आर्थिक संकलन गरि उक्त कल्भर्ट निर्माण गरिएको थियो । सो योजनाको लागि गाउँपालिकाले रु १ लाख सहयोग गरेको थियो ।