फलातेको सारदा आधारभुत विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण (फोटो फिचर)
- २ बैशाख २०७५, आईतवार
- सुरेन गुरुङ
- 2635 पटक पढिएको
शिख २ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ फलातेको सारदा आधारभुत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयबासी, प्रवासी, पोखरा, काठमाडौमा बसोबास गर्ने फलातेबासी र बिदेशी नागरीकको सहयोगमा पच्चिस लाख रुपैया भन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो ।
२५ लाख ३० हजार १११ रुपैयाको लागतमा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीहरुको लागि घेराबार सहितको बास्केटबल, फुटबल खेल्न मिल्ने खेलमैदान, स्विमीङ पुल, पिङ, खानेपानी धारा, स्लाईड, मंकीबार, सिस, प्रवेशद्धार लगायतका पूर्वाधार तयार पारिएको खेलमैदान निर्माण समितिका अध्यक्ष केश गौचनले बताउनुभयो ।
स–साना बालबालीकाहरुलाई विद्यालय जाउँ जाउँ लाग्ने वातावरण बनाई उनिहरुको पढाईप्रती रुची बढाई सिकाई उपलब्धी र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फलातेकी नन्दकुमारी शेरचनले एक रोपनी तिन पैसा एक दाम जग्गा निशूल्क उपलब्ध गराउनु भएको छ ।
खेलकुदका सामाग्री खरिदका लागि जर्मन नागरीक मिस रेजिना बडर र करिना स्टेफनले तिन लाख ३१ ह्जार ४३९ रुपैया सहयोग गर्नुभएको छ । यसैगरी पोखरा, काठमाडौ र प्रवासमा रहेका फलाते, घोप्टेखर्कका बासिन्दाहरुले २९ लाख ८१ हजार ८६३ रुपैया चन्दा सहयोग गरेका थिए । फलातेका ५५ घरधुरीले १०१० दिन, चित्रेका २५ घरधुरीले एक दिन, स्वाँताका ३० घरधुरीले एक दिनका दरले श्रमदान गरेका अध्यक्ष गौचनले बताउनुभयो ।
पर्खाल लगाएर उकासीएको खेलमैदान वरपर तारजालीले घेराउ गरिएको छ । जिर्ण अवस्थामा रहेको प्रवेशद्धार मर्मत, रंगरोगन, चुहिने अवस्थामा रहेका छानाका टिन परिवर्तन गरिएको छ । झ्याल ढोका, शौचालय मर्मत गर्नुका साथै बालमैत्री धारा निर्माण गरि नियमित शुद्ध खानेपानी आपुर्ती हुने व्यवस्था मिलाइएको छ । कक्षा ५ सम्मको पाठनपाठन हुने विद्यालयमा हाल करिब बिस जना विद्यार्थी अध्ययनरत छन् ।
बालमैत्री पुर्बाधारको शनिबार नयाँ वर्षको अवसरमा विद्यालयमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको प्रमुख आतिथ्यता र जिल्ला शिक्षा समन्वय ईकाईका अधिकृत दलबहादुर थापाको बिशिष्ट आतिथ्यतामा आयोजित समारोहमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन सिङ पुर्जाको अध्यक्षता, टोल सुधार समितिका अध्यक्ष चन्द्रसिङ गर्बुजाको स्वागत र प्रअ चिना गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा खेलमैदान निर्माण समितिका सचिव बेलबहादुर पुर्जा, चन्द्र सिङ गर्बुजा, शिख माविको व्यवस्थापन समितिका अध्यक्ष मिन बुद्धुजा, प्रअ जगदिश आचार्य, शिख्तानी समाज पोखराका अध्यक्ष बलबहादुर तिलीजा, जग्गाधनी शिव शेरचन, बालकृष्ण शेरचन, शिक्षा कार्यालयका प्राबिधिक राजकुमार शाही लगायतको उपस्थिती रहेको थियो ।