मलेसीयामा ज्यान गुमाएका परियारको आफन्तका लागि बेनीमा करिब ५० हजार संकलन
- २६ चैत्र २०७४, सोमबार
- 2261 पटक पढिएको
म्याग्दी, २६ चैत । रोजगारीको शिलशिलामा मलेसीयामा रहेको क्रममा यहि चैत १२ गते ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धी परियारको घरपरिवारको लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ ।
आर्थिक रुपमा विपन्न रहेका परियार परिवारमा किरीयाखर्च जुटाउन समेत कठिनाई भएको र उनको ५ वर्षिया छोरीको पठनपाठन र मृगौला रोगले थलिएका वृद्ध बुवा रनबहादुरको उपचारमा सहयोग गर्ने उद्देश्यले म्याग्दी प्रवासी उत्थान साझा मञ्च अन्तराष्ट्रिय कार्य समितिको पहलमा सोमबार बेनीमा घरदैलो गरिएको हो ।
बेनी बजारमा गरिएको घरदैलोका क्रममा ४९ हजार २५५ रुपैया संकलन भएको अभियानका म्याग्दी संयोजक अमित विश्वकर्माले बताउनुभयो । उक्त क्रममा सबैभन्दा बढी सुरत केसीले दुई हजार ५०० रुपैया सहयोग गर्नुभएको छ ।
संयोजक विश्वकर्माको नेतृत्वमा दलित अधिकारकर्मी बालकुमार लामीछाने विश्वकर्मा, याम किसान, प्रेम नेपाली, सञ्चारकर्मी पदम विश्वकर्मा, भुपेन्द्र नेपाली लगायतको सहभागीतामा घरदैलो गरिएको थियो ।
मञ्चको तर्फबाट अन्तराष्ट्रिय समितिका संयोजक प्रेम रसाईलीको नेतृत्वमा विश्वका विभिन्न देशमा समेत सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । अभियानको क्रममा संकलन हुने रकमलाई पिडित परिवारलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिने बताईएको छ ।