धौलागिरी गाउँपालीकामा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि पहल

  • २१ मंसिर २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 1489 पटक पढिएको

म्याग्दी २१ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीकाले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन पहल थालेको छ ।
भौगोलिक बिकटता र गरिबीका कारण सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्न नसकेका गाउँका बासिन्दालाई लक्षित गरेर स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारका लागि पहल थालेको हो ।  गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बुधबार बसेको कार्यपालीका बैठकले स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि बजेटको व्यवस्था सहित नितीगत निर्णय गरेको छ ।

धौलागिरी गाउँपालीका ७ ताकममा रहेको स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन र ६ नम्बर वडाको आरबाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना गर्ने निर्णय गरेको छ । सो गाउँपालीकाका बासिन्दा रगत, खकार, दिसा, पिसाव परिक्षणका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बेनी जान बाध्य छन् ।

आरबाङ स्थित गाउँघर किल्नीक सञ्चालन हुदै आएको भवनबाट सामुदायीक स्वास्थ्य ईकाई सञ्चालन गर्न एक जना अहेबको व्यवस्था गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो । कर्मचारी भर्नाका लागि विज्ञापन आव्हान गर्ने निर्णय भएको छ ।

यसैगरी २ नम्बर वडाको खोरीया र ४ नम्बर वडाको बगरा गाउँमा गाउँघर किल्नीक सञ्चालनका लागि पूर्वाधार तयार पार्न दुई लाख र एक लाख रुपैया बजेट उपलब्ध गराउने निर्णय भएको छ । आरबाङ, खोरीया र बगर गाउँका बासिन्दा सामान्य बिरामी हुदा समेत घण्टौ हिडेर स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् ।

५ नम्बर वडामा पर्ने मल्कवाङ गाउँदेखि जनजागृती माविमा जाने बाटोमा पर्ने खोलामा कल्र्भट पुल निर्माणका लागि एक लाख रुपैया उपलब्ध गराउने निर्णय भएको छ । सो पुल निर्माणका लागि स्थानीय रवीन छन्त्यालको पहलमा देश बिदेशमा रहेका मल्कवाङबासीबासीले पाँच लाख रुपैया भन्दा बढी जुटाएका छन् ।

गाउँपालीकाका वडा अध्यक्ष र कार्यपालीका सदस्यहरुको उपस्थिती रहेको बैठकमा चालु आर्थिक वर्षका लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनलाई तिब्रता दिने विषयमा समेत छलफल भएको थियो ।

सन्तोष गौतम