गरिमाद्धारा जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण

  • ७ मंसिर २०७४, बिहीबार
  • 2180 पटक पढिएको

बेनी, ७ मंसिर । गरिमा विकास बैङ्कले ११ औ वार्षिक उत्सवको अवसरमा बिहीबार बेनी नगरपालीका ९ गलेश्वर स्थित वृद्धाश्रमका जेष्ठ नागरीकलाई न्यानो कपडा वितरण गरेको छ । ४५ जना जेष्ठ नागरीकहरुलाई एकएक थान ज्याकेट प्रदान गर्नुका साथै भोजन गराइएको थियो । बैङ्कका सञ्चालक तथा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, बरिष्ठ व्यवस्थापक अनुमान श्रेष्ठ लगायत पुर्व सञ्चालक र कर्मचारीहरुले कपडा वितरण गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका सञ्चालक श्रेष्ठले बैङ्कले वार्षिक आम्दानीको तिन प्रतिशत सामाजिक क्षेत्रमा लगानी गरेको जानकारी गराउनुभयो ।

उहाँले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत जेष्ठ नागरीकहरुलाई सहयोग गरिएको बताउनुभयो । बरिष्ठ व्यवस्थापक अनुमान श्रेष्ठको अध्यक्षता, बेनी शाखाका प्रबन्धक कमल ढुङ्गानाको स्वागत र बाबियाचौर शाखाका प्रबन्धक प्रकाश ओझाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बेनपा ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

बेनीमा वि.स २०६४ मा स्थापना भएको निलगिरी विकास बैङ्क डेढ वर्षअघि गरिमासंग गाभीएको थियो । गरिमा विकास बैङ्कले सदरमुकाम बेनीका साथै म्याग्दीको मालीका गाउँपालीकाको दरवाङ, मंगला गाउँपालीकाको बाबियाचौर र अन्नपूर्ण गाउँपालीकाको भुरुङ तातोपानीमा शाखा खोलेर सेवा दिदै आएको छ ।