जेष्ठ नागरिकलाई फलफुल वितरण गरि राप्रपा राष्ट्रबादीका उम्मेदवार शाहीको प्रचार प्रसार सुरु
राजसंस्था र हिन्दुराष्ट्र चाहने जनताले मलाई भोट हाल्छन :शाही
- ३० कार्तिक २०७४, बिहीबार
- 2681 पटक पढिएको
म्याग्दी, ३० कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिधिसभा र प्रदेशसभा निर्वाचनमा एकीकृत राप्रपा (राष्ट्रबादी) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्वारी दिएका रामबहादुर शाहीले निर्वाचन प्रचार प्रसार अभियान थाल्नुभएको छ । रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल निवासी शाहीले गलेश्वर स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरि विहिवारदेखि चुनाब प्रचार प्रसार अभियान थाल्नुभएको हो ।
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा लिएर निर्वाचनमा होमिएका शाहीले जिल्लाव्यापी रुपमा प्रचार प्रसार गर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले नेपालमा राष्ट्रप्रमुखमा राजसंस्था र प्रत्येक्ष निर्वाचित प्रधानमन्त्रीय व्यवस्था स्थापना गर्ने खोजेको बताउँदै हिन्दुराष्ट्र बनाउने प्रमुख उदेश्य रहेको बताउनुभयो । यस अघिका निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार बन्दै आउनुभएका शाहीले यस पटक मुलुकमा हिन्दुराष्ट संकटमा परेको कारण आफु राप्रपा राष्ट्रबादीको उम्मेद्वार बनेर आएको बताउनुभयो ।
‘‘हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा भोट माग्ने म एक्लै छु, अन्य राप्रपाबाट प्रतिनिधि सभामा उम्मेद्वार छैनन्, त्यसैले हिन्दुराष्ट्र र राजसंस्थामा आस्थावान सबै व्यक्तिहरुबाट सहयोग हुने अपेक्षा गरेको छु,’’– उम्मेदवार शाहीले भन्नुभयो ।
आफ्नो चुनाब चिन्ह हलो भएको र अन्य विभाजित राप्रपाबाट प्रतिनिधि सभामा कोही पनि उम्मेद्वार नभएकाले सबै हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा रहेका जनतालाई आफ्नो पक्षमा मतदान गर्न उहाँले आह्वान समेत गर्नुभएको छ ।
राप्रपा राष्ट्रबादीका केन्द्रिय सदस्य समेत रहेका उम्मेद्वार शाहीले आफुले नैतिक शिक्षा, स्थानीयकै लगानीमा जलविद्यूत निर्माण गरि रोजगारि र आयआर्जको सिर्जना गर्ने योजनालाई प्राथमिकता दिने बताउनुभयो । भुपु भारतीय सैनिक समेत रहेका शाहीले आफु जापान लगायतको मुलुकमा पुगेर त्यहाँको विकास र समृद्धिको अनुभव हाँसिल गरेको र स्थानीय स्तरमा विद्यालय, लगायतका विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएकाले आफ्नो पक्षमा माहोल बढ्ने दावी गर्नुभयो ।