दुर्गम क्षेत्रको विकासको योजना काँग्रेससँग मात्रैः बानियाँ
- २८ कार्तिक २०७४, मंगलवार
- 1797 पटक पढिएको
निर्वतमान सांसद रेशम बानियाँले दुर्गम क्षेत्रको विकास गर्ने योजना काँग्रेससँग मात्रै भएको दाबी गरेका छन् । २५ बर्ष म्याग्दीको शासनसत्ता कम्प्युनिष्टले सञ्चालन गर्दा पनि विकास नभएको प्रसँग कोट्याउँदै बानियाँले पाँच बर्षभित्र आफुले दुईवटा कम्प्युनिष्ट साँसदले गर्न नसकेको काम गरेको बताए ।
सोमबार मालिका–३ रुमडाँडामा नेपाली काँग्रेसले आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचनका बेला यहाँका मतदातालाई कम्प्युनष्टिहरुले भोट बैंकको रुपमा प्रयोग गरेका छन् । तर, आश्वासन पूरा गरेका छैनन् त्यो पूरा गर्ने योजना र कार्यक्रम पनि उनीहरुसँग छैन ।’
नेपाली काँग्रेस रुमका नेता कुलमान पटेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा ख का उम्मेदवार क्या. अमलाल फगामीले कम्यूनिष्टहरुले पश्चिम म्याग्दीलाई केहि दिन नसकेको बताउँदै आफुले ५ बर्षभित्र शिक्षा, यातायातको क्षेत्रमा अनूभूति हुनेगरि काम गर्ने दाबी गरे ।
स्थानीय हरिप्रसाद पुनले स्वागत गरेको कार्यक्रममा समानुपातिक उम्मेदवार त्रिलोकचन्द्र विश्वास विक, राप्रपाकी समानुपातिक उम्मेदवार दिलमायाँ छन्त्याल, नेपाली काँग्रेस म्याग्दीका सदस्य अजयमिलन श्रेष्ठ, दलित संघ म्याग्दीका अध्यक्ष थमन घिमिरे विक लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रमबाट चन्द्र बहादुर विक लगायत २८ जना काँग्रेस प्रवेश गरेको बताईएको छ । उक्त कार्यक्रमको सञ्चालन स्थानीय नगेन्द्र पाण्डेले गरेका थिए ।