प्रदेशसभा क्षेत्र (ख)को विभिन्न ठाउँमा बाम गठबन्धनको कार्यकर्ता प्रशिक्षण

  • २८ कार्तिक २०७४, मंगलवार
  • 2081 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)का विभिन्न ठाउँमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

धौलागिरी गाउँपालीका ५ मल्कवाङ, मालीका गाउँपालीका ५ देविस्थान, मंगला १ कुहुँ, ३ र ४ बरंजा तथा ५ नम्बर वडाको किमचौरमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त प्रशिक्षण दिइएको हो ।

प्रदेशसभा क्षेत्र (ख) का एमालेका उमेद्वार नरदेवी पुन र माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोकाको टोलीले मल्कवाङमा मतदाता भेटघाट तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

उमेद्वार पुनले म्याग्दीका जनता र बिशेष गरेर महिलाहरुको हक अधिकारका लागि शिक्षकको स्थाई जागीर छोडेर राजनितिमा होमीएको बताउँदै म्याग्देली जनताको सेवा, विकास र समतामुलक समाज निर्माणका लागि आफूलाई जिताउन आग्रह गर्नुभयो ।

मंगला गाउँपालीका १ कुहुँ, ३ र ४ बरंजामा एमालेका नेता चन्द्र केसी र माओवादी केन्द्रका देवराज सुवेदीले प्रशिक्षण दिनुभएको थियो । मंगला ५ किमचौरमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका र माओवादी केन्द्रका नेता चन्द्रप्रसाद बुढाले प्रशिक्षण दिनुभएको थियो ।

मालीका ५ देविस्थानमा गाउँपालीका उपाध्यक्ष खरमाया बिटालु र एमालेका गाउँपालीका सहसंयोजक बेगप्रसाद गर्बुजाले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले कम्युनिष्टहरुको पहलमा भएको उपलब्धि र परिवर्तनलाई संस्थागत गर्दै देश विकास तथा आर्थिक सम्बृद्धीको लागि बाम तालमेल र पार्टी एकता हुन लागेको बताउँदै उत्साहका साथ चुनाव प्रचारमा जुट्न आग्रह गर्नुभयो ।