गाउँको बदनामी गर्ने विरुद्ध पुरुण्डीका युवाहरु एकजुट, पैसा बाँड्न आउनेलाई प्रवेश निधेष
- २६ कार्तिक २०७४, आईतवार
- 3715 पटक पढिएको
म्याग्दी, २५ कात्तिक । निर्वाचनको मुखमा मतदातालाई प्रभावमा पार्नको लागि पैसा बाँडीने नेपाली राजनीतिमा कुनै नौलो कुरा होईन् । तर आर्थिक प्रलोभनमा पारेर निर्वाचनमा भोट माग्न जाने नेताहरुलाई भने म्याग्दीको एक दलित गाउँका युवाहरुले भने गाउँमा प्रवेश निषेध गरेका छन् । यस अघिका निर्वाचनहरुमा पनि आर्थिक चलखेल हुने ठाउँको रुपमा चिनीएको म्याग्दीको बेनी नगरपालिका–५ पुरुण्डी गाउँका युवाहरुले निर्वाचनमा पैसा बाँड्न आउनेलाई प्रवेश निषेधको घोषणा गरेका हुन् ।
न्यु बरनाथ सामुदायिक विकास युवा क्लब पुरुण्डीमा आबद्ध रहेका युवाहरुले जनताको अमुल्य मतलाई किन्न खोजेर गाउँकै बदनामी गरेकाले त्यस्ता नेताहरुलाई यस पटक गाउँमा प्रवेश गर्ननै नदिने घोषणा गरेको क्लब अध्यक्ष विनोद परियारले बताउनुभयो । करिब ११० घरधुरीको बसोबास रहेको पुरुण्डी गाउँमा अधिकाँश दलित समुदायको बसोबास रहेको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा दलित समुदायका केही व्यक्तिहरु मार्फत गाउँका बृद्धबृद्धा र अशिक्षीत व्यक्तिहरुलाई प्रलोभन देखाएर अमुल्य मतलाई किन्न खोजेको कारण यस पटक गाउँका युवाहरुले भोट किन्न आउनेहरुलाई गाउँमा प्रवेश नै गर्न नदिने अभियान चलाएको अध्यक्ष परियारले बताउनुभयो ।
‘‘ हो गाउँमा अशिक्षा र गरिबी छ , सबैले आफ्नो पसिना बगाएर खाएका छन, लाउन र खान नपाएका छैनौँ हामी, तर जिल्लाका केही नेताहरुले यस गाउँलाई पदनामी गर्ने गरि जसरी भोट किन्ने गरेका छन, त्यसको विरुद्धमा हामीले गाउँको स्वाभिमान र अमुल्य मतलाई खेर नफाल्नको लागि यो अभियान चलाएका हौँ,’’– अध्यक्ष परियारले भन्नुभयो । स्थानीय तह निर्वाचनमा पुरुण्डी गाउँमा पैसा, खाद्यान्न र लत्ताकपडा बाडिएको घटना निर्वाचन पछि बाहिर आएको थियो । यस निर्वाचनमा भने पूरुण्डीका जनताले पैसामा नभई विकास र समृद्धिसंग भोट साट्ने परियारले बताउनुभयो ।
युवा क्लबले गाउँमा ‘‘हामीलाई अधिकार चाहिएको छ’’, ‘‘हामीलाई विकास चाहिएको छ’’, ‘‘हाम्रो मत अमुल्य छ, भोट खरिद गर्नेहरुलाई पुरुण्डीमा प्रवेश निषेध छ’’ नारा लेखिएको व्यानर समेत टाँस गरेका छन् ।
स्थानीय तह निर्वाचनमा विभिन्न आश्वासन लिएर गएका नेताहरुले गाउँको समस्या सम्बोधन नगरेकोप्रति समेत उनीहरु रुष्ट बनेका छन् । सदरमुकाम नजीकै भएर पनि पुरुण्डीमा खानेपानी, सर्वशुलभ शिक्षा, खेलमैदान लगायतको समस्या छ । निर्वाचनमा कसैले पैसा अथवा कुनै सामाग्री लिएको थाहा पाएमा उनीहरलाई समेत कारबाही गर्ने क्लबले जनाएको छ । गाउँमा भित्रने नेताहरुको निगरानीको लागि क्लबले युवाहरुलाई परिचालन गरेको जनाएको छ ।
निर्वाचनमा पैसा बाँडीनु आचार संहिता विपरित हुने भएपनि राजनीतिक दलहरुले भने विभिन्न माध्ययमबाट बिशेष गरि दलित समुदायका अशिक्षीत, विपन्न परिवारका मतदाताकहाँ आर्थिक चलखेल मार्फत मत प्रभावित गर्ने गरेका छन् । अमुल्य मतलाई किन्न खोज्ने नेताहरुको लागि पूरुण्डीका युवाहरुले देखाएको सक्रियताले भने दलीत, गरिब र अशिक्षीत समुदायको स्वाभिमानलाई उचो बनाएको छ ।