वामपन्थीले जितेमा पर्वतमा विकासको लहर आउँछ : तिमिल्सीना

  • २५ कार्तिक २०७४, शनिबार
  • 2089 पटक पढिएको

पर्वत , २५ कात्तिक । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शनिवार जलजजला गाउँपालिका ३ माझफाँटमा संयुक्त चुनावी आमसभा गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा प्रदेश ४ का सहसंयोजक गणेश तिमिल्सीनाले नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरेर देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले नेपाली जनताको लामो समय देखिको सपना पुरा गर्न दुइ पार्टी विच चुनावी तालमेल र एकताको सहमति भएको बताउनुभयो । निर्वाचन सम्पन्न भएपछि वाम पन्थीको नेतृत्वमा दुइतिहाई वहुमतको सरकार गठन हुने नेता तिमिल्सीनाले दावी गर्नुभयो ।


सधै भ्रमको राजनीति गरेर जनतालाई झुक्काउने दलका नेतालाई यसपटक पराजित गरेर जनताका असली सेवकलाई मतदान गरि विजयी गराउन माझफाँटवासीलाई नेता तिमिल्सीको अनुरोध गर्नुभयो । वाम पन्थीका उम्मेदवारहरुलाई जिताए मात्र पर्वतमा विकासको लहर आउने उहाँले बताउनुभयो । उहाँले सधै झुक्याएर विजय हुने र जनताको पक्षमा केही काम नगर्ने दललाई यसपटक माझफाँटवासीलाइ सवक सिकाउनु पर्ने बताउँनुभयो । विगतको निर्वाचनमा गरेको गल्तीबाट पाठ सिकेर यसपटक वाम गठन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । उम्मेदवार गिरीले निर्वाचन जितेर जनताको जनमतलाई कुल्चीने प्रवृत्ति विगतमा रहेको बताउँदै उहाँले यसपटक वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन माझफाँटवासीहरु योगदान रहने विश्वास व्यक्त गर्नुभयो । वाम गठबन्धनप्रति जनता उत्साहित भएकाले पर्वतमा दश हजार मत अन्तरले वाम गठबन्धन विजय हुने उहाँको दावी थियो ।

आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवात र राष्ट्रि स्वाभिमान जोगाउने काम वामपन्थीको सरकारले गरेको उहाँले बताउनुभयो । उम्मेदवार गिरी सवै एकतावद्ध भएर निर्वाचनमा वामपन्थीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । उहाँले स्थानीय स्तरमा भएका समस्याहरुलाई अव बन्ने वामपन्थीको सरकारले पहिलो प्राथमिकताका साथ योजना अघि ल्याउने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र (क)का उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारीले वाम गठबन्धनले जितेमा पर्वतमा विकासको ढोका खुल्ने बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि वामपन्थीहरु एकतावद्ध भएर जनता माझ आएकाले मतदान गरेर जिताउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका समानुपातिक उम्मेदवार विजय गुरुङ,जुना नेपाली,केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, माओवादीकी समानुपातिक उम्मेदवार मनरुपा सुवेदी, माओवादी केन्द्र पर्वतका सहसंयोजक केशव कुँवर र दलित नेता दुर्गा दर्जी लगायतले वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजय गराउन अनुरोध गर्नुभएको थियो । संयुक्त निर्वाचन परिचालन कमिटि जलजलाका संयोजक लालवहादुर अधिकारीको अध्यक्षता, सहसंयोजक तथा माओवादी केन्द्रका नेता दिपक आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरि प्रतिनिधिसभाका उम्मेदवार गिरी र प्रदेशका उम्मेदवार अधिकारी सहितको टोलीले वासखर्क र माझफाँटमा घरदैलो र भेटघाट गरेको छ ।