प्रदेशसभा २ मा मतदाता भेटघाट कार्यक्रम

  • २२ कार्तिक २०७४, बुधबार
  • 2129 पटक पढिएको

म्याग्दी,२२ कात्तिक । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बुधबार मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चुनावी तालेमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादीको तर्फदेखि प्रदेशसभा २ का साझा उम्मेदवार नरदेवी पुनसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम गरेको हो ।

पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेकी पुनले आफूले विगतमा सुरु गरेका विकास निर्माणको कामलाई थप बढावा दिन र नयाँ कामको थालनीका लागि चुनावी मैदानमा होमिएको बताउँदै आफूलाई विजयी गराउन आग्रह गरेकी छिन् । उनले नेपालमा भएका हरेक वामपन्थी सरकारले जनपक्षीय काम गरेको भन्दै आसन्न निर्वाचनमा पनि वाम गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताइन् ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य देवराज सुवेदी, एमाले म्याग्दीका लेखा आयोग कमिटीका संयोजक चन्द्रकुमार केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुलगायत दुवै पार्टीका जिल्ला एवं स्थानीयस्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । उक्त टोलीले मङ्गलबार मालिका २ र ३ रुमको किटिनी गाउँमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ भने आजै मंगला गाउँपालिका–२ हिदीमा पनि कार्यक्रम गरिएको जनाएको छ ।