ओखरबोट र गुर्जालाई साक्षर घोषणा

  • १९ कार्तिक २०७४, आईतवार
  • 3580 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोट र धौलागिरी गाउँपालीका १ गुर्जालाई साक्षर वडा घोषणा गरिएको छ ।दुई वटै वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालयका अनुसार १९१ घरधुरी र एक हजार १४० जनसंख्या रहेको गुर्जाका ९५.३० प्रतिशत साक्षर बनेका छन् ।


यस्तै ३८१ घरधुरी र दुई हजार १६५ जनसंख्या रहेको ओखरबोटका ९५.४० प्रतिशत साक्षर भएका छन् । जिल्लाकै दुर्गम बस्ती गुर्जालाई साक्षर वडा घोषणा गर्ने कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, वडा अध्यक्ष झकबहादुर छन्त्याल, जनप्रतिनिधिहरु, स्रोतव्यक्तिहरु गिरीप्रसाद छन्त्याल, दुर्गाराम सुवेदी, जयराम सुवेदी, केशव रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष दिलपी शेरचन, १ नम्बर वडाका अध्यक्ष तथा गाउँपालीकाको शिक्षा उपसमितिका संयोजक टंक पुन, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामकरण पाल, स्रोत व्यक्ति तेजप्रसाद लामीछानेको उस्थिती रहेको थियो ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य हालसम्म २७ वटा वडालाई साक्षर घोषणा गरिएको छ । आगामी माघ ८ गते म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने जिल्ला अनौपचारीक शिक्षा समितिले निर्णय गरेको छ ।