धौलागिरी सहकारीको साधारणसभाः दृष्टिबिहीन खत्रीलाई रु ३५ हजार सहयोग

  • १८ कार्तिक २०७४, शनिबार
  • कमल खत्री
  • 2815 पटक पढिएको

म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिवार बेनीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक बर्ष २०७३÷०७४ मा ३५ लाख बढी सञ्चालन मुनाफा गरेको सो अबसरमा जानकारी गराईएको छ ।

३५ जनाको दुई करोड ५५ लाख १८ हजार ४०० रुपैया शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७३७४ मा ३५ लाख ९२ हजार १८८ सञ्चालन मुनाफा गरेको जनाएको छ । २९ करोड ४९ लाख ३८ हजार २२१ रुपैया निक्षेप संकलन र ३२ करोड ११ लाख २२ हजार ६५९ रुपैया कर्जा लगानी गरेको सहकारीले ७ लाख २० हजार ११८ रुपैयाँ आयकर तिरेको सचिव राम्जीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसैबिच सोही अबसरमा सहकारीले म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैया नगद सहयोग गरेको छ । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत आर्थिक रुपमा विपन्न दृष्टिबिहीन खत्रीलाई सहकारीले हरेक बर्ष रु ३३ हजार सहयोग गर्ने गरि उक्त सहयोग पत्रकार हरिकृष्ण गौतम मार्फत सहयोग गरेको हो ।

संस्थाले वार्षिक रुपमा म्याग्दी बहुमुखी क्याम्पसका ३, प्रकाश माविका १ र जामुनाखर्क मावीका २ जना उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रावृती प्रदान गर्दै आएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह सञ्चालनका लागि आयोजित महायज्ञमा ५५ हजार रुपैया सहयोग गरेको अध्यक्ष लिलाबहादुर बानियाले बताउनुभयो ।

यसैबिच सहकारीको अधिबेशनबाट पुनः लिलाबहादुर बानियाको अध्यक्षामा नयाँ कार्य समिति चयन गरेको छ । अधिबेशनले अमृतलाल श्रेष्ठ उपाध्यक्ष, राम्जीप्रसाद सुवेदी सचिव, चन्द्रकुमार केसी कोषाध्यक्ष रहेको सञ्चालक समिति गठन गर्नुका साथै अन्य सहकारी संस्थासंग एकिकरण र सेयर पुँजी वृद्धी गर्ने निर्णय गरेको छ । सहकारीको सदस्यहरुमा रुद्रबहादुर केसी, बमबहादुर पुन, बिमला गौचन, जनकराज पाण्डे, कृष्णकुमार शेरचन, बिरेन्द्रमान शाक्य, वुद्धिप्रसाद छन्त्याल र लेखा समिति संयोजकमा सुरत केसी चनय हुनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l