“बेनी अस्पतालको सेवामा सुधार र गुणस्तरमा सुधार”
- १७ कार्तिक २०७४, शुक्रबार
- सन्तोष गौतम
- 2471 पटक पढिएको
बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।
मूल्याङकन प्रतिवेदन सार्वजनीक गर्दै अध्ययन टोलीमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख पवनजंग रायमाझीले बेनी अस्पतालले ८२ प्रतिशत मापदण्ड पुरा गरेको जानकारी गराउनुभयो । जिल्ला अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत स्वास्थ्य मन्त्रालय र निक साईमन ईनिटच्युटले बेनी अस्पताललाई वि.स २०७२ देखि प्राबिधिक, जनशक्ति र व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन पक्षको सहकार्य, उपकरणहरुको व्यवस्था, समुदायको सहयोग र चासो, शल्यक्रिया सेवा सञ्चालन गर्नु, आफ्नै फार्मेसी हुनु, सरसफाई लगायतका क्षेत्रमा सेवा प्रवाहमा सुधार आएको जानकारी गराइएको थियो ।
कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभुत विषयलाई स्थानीय तहले प्राथमिकताका साथ अपनत्व ग्रहण गर्ने बताउँदै सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डाक्टर बिकास देवकोटाले बेनी अस्पताल गुणस्तरीय सेवा प्रवाहका हिसावले नेपालकै नमुना बनेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सेवाको दिगोपना र निरन्तरतालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
निक साईमन ईन्टिच्युटका डाक्टर काशीकुमार र शारदा शाहले सरकारी अस्पतालको सेवा र गुणस्तर सुधार गर्ने उद्देश्यले अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम सञ्चालन भएको बताउनुभयो । बेनी अस्पतालका चिकित्सक धिरेन मल्लले अस्पतालको सेवा सुबिधा, जनशक्ति र उपकरणको उपलब्धताको विषयमा जानकारी गराउनुभएको थियो ।
उहाँले अर्थोपेडीक, छाला प्रत्यारोपण, पत्थरी, हर्नीया, हाईड्रोशिल, एपेन्डीसाईटीस, दन्त, सर्जरी लगायत स्वास्थ्य समस्याको साथै शल्य क्रिया सहितको प्रसुती सेवा दिइएको जानकारी गराउँदै डिजीटल एक्सरे मेसीन प्रयोगमा रहेको बताउनुभयो ।
छिट्टै मृगौला रोगीको लागि डायलाईसीस गर्ने उपकरण पनी ल्याउने तयारी भएको छ । जिल्ला अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि सो सुबिधाका लागि जिल्ला बाहिर हजारौ खर्च गरेर जानुपर्ने बाध्यता कम भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले ५० शैया क्षमत्ताको नयाँ भवन निर्माण सुरु भएपछि पुराना भवन भत्काइएको भएपनि बैकल्पीक व्यवस्था गरेर सेवामा असर पर्न नदिएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन तथ्याङ्क प्रमुख बसन्त पोखरेलले सञ्चालन गर्नुभएको थियो ।