म्याग्दीमा लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुँदै

  • १६ कार्तिक २०७४, बिहीबार
  • 3344 पटक पढिएको

म्याग्दी, १६ कात्तिक । म्याग्दीमा लोक सेवामा पहुँच अभिबृद्धिको लागि लोक सेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुने भएको छ । म्याग्दीका दुई युवाले करियर डेभलपमेण्ट सेन्टर (सिडिसी) म्याग्दी सञ्चालन गरि लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्न लागेका हुन् । सरकारी सेवामा रहेका कृष्ण प्रसाद सुवेदी र सामाजिक क्षेत्रमा सक्रिय दिपक पौडेलले बेनी स्थित गणेशटोलमा नियमित रुपमै लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्ने गरि सिडिसी, म्याग्दी स्थापना गर्नुभएको हो ।


सरकारी सेवातर्फ म्याग्देलिहरुको पहुँच न्युन रहेको र शैक्षिक बेरोजगार बढ्दै गएकाले शिक्षीत युवा जनशक्तिलाई लोकसेवामा प्रवेश गराउने उदेश्यले लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्न लागिएको करियर डेभलपमेण्ट सेन्टरका सञ्चालक दिपक पौडेलले बताउनुभयो । उहाँले अहिले अधिकाँश म्याग्देली युवायुवतीहरुले रोजगारिको लागि विदेश पलायनलाई नै रोज्नुपर्ने बाध्यता रहेको बताउँदै स्वदेशमै सरकारी सेवामा प्रवेश गरि देश र नागरिकको सेवा गरि आफ्नो भविश्य उज्वल बनाउने अबसर सृजना गर्नु आफुहरुको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

अहिले तत्कालै सो सेन्टरले बाणिज्य बैँक, कृषि विकास बैँकका विभिन्न तहका कक्षाहरु सञ्चालनको लागि आवेदन संकलन गरिरहेको छ । लगत्तै सो तहका कक्षाहरु सञ्चालन हुने र सम्बन्धित बैँकका अनुभवी प्रशिक्षकहरुद्धारा कक्षा सञ्चालन हुने सञ्चालक पौडेलले बताउनुभयो । त्यस्तै सेन्टरले लोकसेवा प्रवेशको लागि खरिदार, नायब सुब्बा, शाखा अधिकृत लगायतका तहका कक्षाहरु नियमित रुपमा सञ्चालन गर्ने जनाएको छ । सो कक्षाहरुमा सरकारी सेवाको माथिल्लो तहमा पुगेका दक्ष तथा अनुभवी व्यक्तिहरुले प्रशिक्षण गर्नुहुने जनाईएको छ । ‘‘ अहिले बजारदेखि गाउँसम्म दश जोड दुई उर्तिण गरेपछिको ठुलो जनशक्ति बेरोजगार अवस्थामा छन, उनीहरुलाई लोकसेवामा प्रवेश गराई राज्यको प्रशासनिक क्षेत्रमा म्याग्देलिहरुको पहुँच स्थापित गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई छ,’’– अर्का सञ्चालक सुवेदीले भन्नुभयो ।