गाउँ पसे म्याग्दीका उमेद्वार
- ११ कार्तिक २०७४, शनिबार
- सन्तोष गौतम
- 2783 पटक पढिएको
म्याग्दी ११ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेसंगै म्याग्दीका उमेद्वारहरु भोट माग्न गाउँ पसेका छन् ।
नेता, कार्यकर्ता र कलाकारको टोली सहित उमेद्वारहरु चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उमेद्वारी दिएका नेपाली काँग्रेस र राप्रपाको संयुक्त प्रचार टोली अन्नपूर्ण गाउँपालीकाको वडा स्तरमा चुनावी आमसभा सकेर शनिबार बेनी फर्कीएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका उमेद्वारको टोलीले प्रदेशसभा क्षेत्र नम्बर २ मा पर्ने मंगला गाउँपालीका ३ बरंजाबाट शुक्रबारदेखि संयुक्त चुनाव प्रचार अभियान सुरु गरेको छ । राजनितिक दलहरुले प्रचारसभामा गित तथा नृत्य प्रस्तुत गर्न कलाकारको टोली समेत बनाएका छन् । ग्रामिण क्षेत्रका कृषकहरु धान, कोदो भित्र्याउने, गहुँ, जौ छर्ने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारका लागि तिन चरणको कार्यक्रम बनाएका छन् ।
वडा स्तरमा कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो गरेर भोट माग्ने कार्यक्रम बनाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । “एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतीको सन्देश कार्यकर्ता तहमा पु¥याउदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई घरदैलोमा परिचालन गरेका छौ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
जिल्ला स्तरमा एमाले र माओवादी केन्द्रका ७ सदस्यीय संयुक्त चुनाव प्रचार प्रसार कार्यदल गठन भएको र स्थानीय तह तथा वडा स्तरमा सोही संरचना तयार पारेर संयुक्त प्रचार अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।
कार्यकर्ताहरुलाई प्रशिक्षण, उमेद्वार सहित आमसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको पौडेलले बताउनुभयो । नयाँ संबिधानले परिकल्पना गरे अनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले र माओवादी तथा काँग्रेस र राप्रपाले तालमेल गरेर उमेद्वार उठाएका छन् ।
नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानीयाले चुनावी सभा भन्दा पनी मतदाताको घरदैलोमै पुग्ने गरी चुनाव प्रचारको कार्यक्रम बनाइएको बताउनुभयो । तरुण दल, महिला, नेविसंघका कार्यकर्तालाई घरदैलो अभियान परिचालन गरिएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसका जिल्ला सभापती खम्बिर गर्बुजा र एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादीका बिनोद केसी, राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उमेद्वारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा बाम गठबन्धन काँग्रेस राप्रपा भन्दा सात हजार मतले अगाडी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यका लागि १२ जनाले उमेद्वारी दर्ता गराएका छन् । एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा, ७२ मतदान स्थल र १०२ मतदान केन्द्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् ।