वाम गठबन्धनको शिखमा अगुवा कार्यकर्ता भेला
- ७ कार्तिक २०७४, मंगलवार
- 2959 पटक पढिएको
म्याग्दी, ७ कात्तिक । वाम गठबन्धन गरेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मङ्गलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कार्यकर्ता भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य कुलविर राम्जालीले देशको आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रदेश नम्बर १ का उम्मेदवार एवं माओवादी केन्द्रका नेता विनोद केसीले विदेशिएका युवालाई स्वदेशमै रोजगार सिर्जना गर्न र म्याग्दी जिल्लाको समग्र विकासका लागि आफू चुनाबी मैदानमा आएको हुँदा वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा सल्लाहकार भीमबहादुर तिलिजा, जिल्ला सदस्य बुद्धि पुन, नारायण पुन, अन्नपूर्ण–२ का वडाध्यक्ष ओमप्रसाद फगामी, रघुगंगा–२ का वडाध्यक्ष रिम कटुवाल र अनेमसंघका जिल्ला सदस्य दुर्गादेवी पाईजाले नेपाली जनता र देशको आवश्यकता अनुसार भएको वाम गठबन्धनलाई जिताउनुको विकल्प नभएकोमा जोड दिएका थिए ।
सोही अवसरमा कृष्णबहादुर तिलिजा संयोजक, दुर्गा खाती सहसंयोजक र केशबहादुर पूर्जा सचिव रहेको १०१ सदस्यीय वडास्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । वडा कमिटी अध्यक्ष कृष्णबहादुर तिलिजाको अध्यक्षता र एमाले प्रदेश ४ का विकास विभाग सदस्य खड्ग गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा कमिटी उपाध्यक्ष दुर्गा खातीले स्वागत गरेका थिए । फाईल तस्बिर