महालेखा परिक्षकको डोर टोली बेनीमा

  • ७ कार्तिक २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2073 पटक पढिएको

बेनी ७ कात्तिक । महालेखा परिक्षकको कार्यालयको डोर टोली बेनीमा आएको छ । म्याग्दीमा रहेका सरकारी कार्यालयहरुले गत आर्थिक वर्ष २०७३७४ मा गरेको खर्चको स्थलगत लेखापरिक्षणका लागि महालेखाले जिल्लामा टोली खटाएको हो । आगामी मंसिर ५ गतेसम्म म्याग्दीमा रहने टोलीले जिल्ला स्थित सरकारी कार्यालयले गत आर्थिक वर्षमा गरेका खर्चको लेखापरिक्षण गर्ने मंगलबार बेनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका निर्देशक जयराम घिमीरेले सरकारी कोषको आम्दानी, खर्चको स्थलगत लेखापरिक्षण गरिने बताउनुभयो । सार्वजनीक निकायको लेखापरिक्षणलाई सहज र व्यवहारीक बनाउन स्थलगत टोली खटिएको उहाँले बताउनुभयो ।

कार्यालयबाट घिमीरेको नेतृत्वमा ३ जना कर्मचारी खटिएका छन भने म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक रामजीप्रसाद सुवेदी सहायक लेखापरिक्षकमा नियुक्त हुनुभएको छ । टोलीले लेखापरिक्षणका क्रममा सार्वजनीक खर्चको अवस्था आर्थिक निती, प्रक्रिया र नियमसंगत छ छैन भनेर जाँच गरी प्रक्रियासंगत नभएका खर्चलाई बेरुजुमा उल्लेख गर्ने जनाएको छ । सबै कार्यालयको लेखापरिक्षण गरेपछी प्रारम्भिक प्रतिवेदन समेत सार्वजनीक गरिने निर्देशक घिमीरेले बताउनुभयो । डोर टोलीले कोष तथा लेखा नियन्त्रकको कार्यालयको आयोजनामा स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, कार्यालय प्रमुख र लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई लेखापरिक्षणको बारेमा जानकारी गराउनुका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरेको छ ।

कार्यक्रममा जिल्ला न्यायाधिश रामकुमार कोईरालाले सार्वजनिक निकायलाई पारदर्शी बनाउन गरिने लेखापरिक्षणलाई झञ्जट मान्न नहुने बताउनुभयो । उहाँले लेखापरिक्षण कार्यलाई सघाउन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले लेखापरिक्षणका क्रममा सैद्धान्तिक दृढता र व्यवहारीक लचकता अपनाउन आग्रह गर्नुभयो । नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले सार्वजनीक खर्च प्रणाली प्रक्रिया र कागजमुखी भएको बताउनुभयो । कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

सन्तोष गौतम