बाम गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान चलाउने

  • ७ कार्तिक २०७४, मंगलवार
  • 2313 पटक पढिएको

म्याग्दी, ६ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक ८ गते बेनीमा २ वटै पार्टीका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण र वाम तालमेल तथा पार्टी एकिकरण गर्ने सहमतीको स्वागतमा जलपान कार्यक्रम आयोजना गरी चुनावी प्रसार अभियान सुरु गर्ने निर्णय भएको एमालेका सचिवालय सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

९ गते बेनी नगरपालीका र ५ वटै गाउँपालीकामा दुवै पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण तथा १० गते बरंजाको आरबाङबाट चुनाव प्रचार अभियान सुरु गर्ने निर्णय भएको छ । बैठकले एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठको संयोजकत्वमा देवेन्द्र केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले, माओवादीका गोविन्द पौडेल, शेरबहादुर केसी र चन्द्रबहादुर घिमीरे सदस्य रहेको उच्च स्तरीय चुनाव प्रचारप्रसार संयोजक कार्यदल गठन गरेको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका साझा उमेद्वार सहित चुनाव प्रचार अभियान सञ्चालन गर्न कार्य तालीका समेत तय गरेको छ । कार्यकर्ता तहमा बाम तालमेल र पार्टी एकिकरणको सहमतीको विषयमा जानकारी गराउदै भावनात्मक एकतामा जोड दिई चुनाव प्रचारलाई प्रभावकारी बनाउने दुवै पार्टीका नेताहरुले प्रतिवद्धता जनाएका छन् ।

एमाले माओवादी बाम गठबन्धनको तर्फबाट प्रतिनिधीसभामा एमालेका भुपेन्द्र थापा, प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका बिनोद केसी र क्षेत्र नम्बर २ मा एमालेकी नरदेवी पुन उमेद्वार बन्नुभएको छ । बैठकमा सहभागि नेताहरु राष्ट्रिय आवश्यकता, संबिधानको पूर्ण कार्यान्वयन, एमाले माओवादीको नेतृत्वमा भएका परिवर्तनको संस्थागत, राजनितिक स्थिरता, सामाजिक न्याय र सम्बृद्धी हासील गर्न बाम गठबन्धन तथा पार्टी एकताको सहमती भएकोमा स्वागत गर्दै कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । २०६४, ७० को संबिधानसभा तथा २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणाम, बलीयो संगठन र बामपन्थी सरकारले गरेका लोकप्रिय कामका कारण गठबन्धनको जित सुनिश्चित भएको भन्दै उच्च मनोबल र एकताको भावनाका साथ चुनावी अभियानमा जुट्न दुवै पार्टीका नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।