जुवातासका साना खालहरुमा प्रहरीको छापा, ठुला खालहरुबारे अझै अनविज्ञ

  • २ कार्तिक २०७४, बिहीबार
  • 3688 पटक पढिएको

म्याग्दी, २ कात्तिक । चाडपर्वको समयमा जुवातास खेल्ने र खेलाउनेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ । पछिल्लो एक सातामा तीन वटा जुवाखालमा छापा मारेको प्रहरीले जुवातास विरुद्धको अभियानलाई तिब्र बनाउने जनाएको छ । प्रहरीले बुधवार बेनी नगरपालिका–८ स्थित कुमारी पुनको घरबाट घरधनी पुन सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । पुनको घरमा जुवातास खेलीरहेकाबाट नेपाली नोट,भारतिय नोट तथा जुवा खेल्न प्रयोग गरीने क्वाईन समेत बरामद गरीएको र पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामाजिक विकृतीको रुपमा रहेको जुवा नियन्त्रण “अपरेशन” अन्र्तगत एक हप्तायता तिन वटा जुवाघरमा छापा मारेर २३ जना जुवाडेहरुलाई पक्राउ गरिसकेको छ । असोज २८ गते बेनीको पिपलचोक स्थित दिपशिखा होटलमा जुवा खेलीरहेको अबस्थामा नगद तेह्र हजार र ४ बुक तास सहित ७ जनालाई पक्राउ गरेको थियो । असोज ३१ गते बेनपा ९ गलेश्वर स्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुन सहित तास खेलीरहेका ९ जना पक्राउ परेका छन् । उनिहरुको साथबाट नगद तिन हजार ८०० रुपैया र ४ बुक तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनीक गरेको छैन् ।

पक्राउ पर्ने जुवाडेहरुमा राजनितिक कार्यकर्ता, जनप्रतिनिधि देखि समाजका बरिष्ठ भनिएका व्यक्तिहरु समेत रहेको बुझीएको छ । अन्य जुवाघरहरु पत्ता लगाउन र जुवाडे पक्राउ गर्न तथा अनुसन्धान प्रभावीत हुने भएकाले नाम सार्वजनीक नगरिएको प्रहरीले दावी गरेपनी राजनितिक दवाव र प्रभाव सहायक कारण मानिएको छ । यता प्रहरी जुवातास विरुद्ध अप्रेशन सुरु गरेको बताएपनि बेनीमा कोठा भाडा लिएरै ब्यवसायीक रुपमा जुवा तास खेलाउनेहरु सम्म भने प्रहरी अझै पुग्न सकेको छैन् ।

प्रहरीले सक्रियता बढाएपनि ठूला र व्यवसायीक जुवाघरहरुमा भने अझैपनि प्रहरीको अप्रेशन पुग्न नसकेको बेनीका स्थानीयबासी बताउँछन् । बेनीमा दैनिक लाखौँ रुपैयाँ सम्म हारजित गर्ने खालहरु रहेको जानकारहरु बताउँछन् । अहिले जुवातास विरुद्ध प्रहरीले थालेको सक्रियतालाई सकरात्मक रुपमा लिएका बजारबासीले चाडपर्वमा मात्रै होईन अन्य समयमा समेत नियमित जुवातास खेल्ने र खेलाउनेहरुसम्म प्रहरीको अप्रेशन कहिले पुग्छ ? प्रतिक्षा गरिरहेका छन् ।