तीहारमा देउसी भैलोको रौनकता बढ्यो (फोटो फिचर)

  • १ कार्तिक २०७४, बुधबार
  • धिरन खत्री
  • 3047 पटक पढिएको

म्याग्दी,१ कात्तिक । नेपालीहरुको महत्वपूर्ण पर्व तिहार नजिकिएसंगै म्याग्दीमा देउसी भैलोको रौकनता बढेको छ । पाँच दिनसम्म मनाईने तिहारको अबसरमा सदरमुकाम बेनी लगायत गाउँ गाउँमा देउसी भैलो सुरु भएको छ ।

परम्परागत रुपमा तीहार पर्वसंग जोडिएको देउसी भैलो पछिल्लो समय कला संस्कृति संरक्षण संगै सामाजिक कार्यहरुमा आर्थिक संकलनको माध्ययम समेत बनेको छ । अहिले जिल्लामा विभिन्न जातजाती तथा संघ सस्थाहरुले मौलिक कलासस्कृतिको रुपमा रहेको देउसी भैलोको संरक्षण संगै विभिन्न उदेश्य पुर्तिको लागि आर्थिक संकलन गर्ने लक्ष्य सहित देउसी भैलो सञ्चालन गरेका छन् ।


बेनीमा असोज ३१ गतेदेखि देउसी भैलो सञ्चालन गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले कलाकार अक्षयकोष स्थापनाको लागि देउसी भैलो सञ्चालन गरेको छ । मौलिक संस्कृतिको संरक्षण र कलाकार कल्याणकारी अक्षयकोष स्थापनाको लागि देउसी भैलो सञ्चालन गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । प्रतिष्ठान संगै म्याग्दी साहित्य सञ्चारले समेत साहित्यकार अक्षयकोष स्थापनार्थ बेनीमा देउसी भैलो सञ्चालन गरेको छ ।


बेनीमा बाह्मकुमारी ईश्वरीय विश्वविधालय, अनेरास्ववियू म्याग्दी, कालिपुल यूनाईटेड, नेपाल मगर विद्यार्थी संघ , क्षेत्री समाज म्याग्दी लगायत विभिन्न संघ संस्था तथा समुहले विभिन्न उद्देश्यसहित कलासस्कृतिको संरक्षण तथा प्रबन्धन गर्न देउसी भैलो कार्यक्रम गरिरहेका छन् । बेनीमा मात्रै नभएर जिल्लाको ग्रामीण भेगमा समेत सामुदायिक विद्यालय, युवा क्लब, आमा समुह लगायतले देउसी भैलो सुरु गरेका छन् ।


विषेश गरि निजी स्रोतबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब जुटाउन जिल्लामा देउसी भैलो प्रभाबकारी बन्ने गरेको छ । सरकारी तवरबाट प्रयाप्त शिक्षक दरबन्दिको व्यवस्था नहुँदा ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउनको लागि हरेक बर्षजसो देउसी भैलो सञ्चालन गर्दै आएको पाईन्छ । म्याग्दीमा देउसी भैलोमा परम्परागत कला संस्कृतिको संरक्षणको लागि पुख्र्यौली नाच, थाली नाच जस्ता मौलिक नृत्यहरुलाई समेत प्राथमिकता दिएर प्रदर्शन गरेको पाईएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l