कालीपुल–मल्लाज पदमार्गको उद्घाटन

  • ३० आश्विन २०७४, सोमबार
  • 2588 पटक पढिएको

म्याग्दी, २९ असोज । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वतको मल्लाज माझफाँट जोड्ने पक्की पदमार्गको शनिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम संस्थाको ५७ लाख रुपैयाँको लगानी स्थानीय उपभोक्ताको २० लाख रुपैयाँका लगानीमा निर्माण सम्पन्न भएको पदमार्गको पाँच बर्षपछि उद्घाटन गरिएको हो ।

संस्थाका पूर्वअध्यक्ष जिल भरवोट र वर्तमान उपाध्यक्ष केरलले कालीपुल गेटमा संयुक्त पदमार्गको उद्घाटन गरेका थिए । खाल्डो बेनी र उच्च भागमा अवस्थित मल्लाज जोड्ने पदमार्ग निर्माण भएपछि मल्लाजबासीले बेनी आउजाउ गर्न र मर्निङ वार्क गर्नेहरुलाई सहज भएको छ । १ हजार ३ सय १५ मिटर ढलानसहित पक्की पदमार्ग निर्माण भएपछि पर्वतको उत्तरी भेगका गाविस माझफाँट, लेकफाँट, शालिजाका साथै म्याग्दीको राम्चे क्षेत्रका सदरमुकाम बेनीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

पदमार्ग निर्माणपछि ओरालो र साँघुरो गोरेटो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको पदयात्रीहरुको भनाई छ । विद्यालय उमेर समूहका बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुलाई सो बाटो भएर आवतजावत गर्न सहज भएको जनाइएको छ । उकालोमा १ हजार ६ सय ६३ वटा सिँढी बनाएपछि हिँड्नलाई सजिलो हुनुका साथै डिलमा राखिएका ६ सयवटा पिलरमा फलामको रेलिङ समेत राखिएपछि यात्रा थप सुरक्षित बनेको छ ।

उद्घाटन पछि मल्लाजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भरवोट र करेलले संस्थाको सानो लगानी सही ठाउँ सदुपयोग भएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कालीपुल डिलफाँट गोरेटो बाटो निर्माण समिति अध्यक्ष रामबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जलजला गाउँपालिका वडा नंम्बर २का अध्यक्ष गोविन्द खत्री र ३ का अध्यक्ष देवेन्द्र (रवि) भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय आमा समूह, अमृत आर्दश बोर्डिङ स्कुलका विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपभोक्ता समितिका सचिब टेकबहादुर बरुवालले प्रगति प्रतिवेदन र सञ्चालन स्थानीय नविन जिसीले गरेका थिए ।