रघुगंगा गाउँपालिकामा कोरोना विरुद्धको आकस्मीक कोषमा रु ३४ लाख बजेट, सबै वडामा क्वारेनटाइन

  • १३ चैत्र २०७६, बिहीबार
  • 1859 पटक पढिएको


म्याग्दी १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मीक कोष खडा गरेको छ । विहिवार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोषको स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको हो ।


गाउँपालिकाले विश्वब्यापी महामारीको रुप लिएको कोरोना विरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । ८ वटै वडामा क्वारेनटाइन बनाउनको लागि आबश्यक सामाग्रि खरिद गरि तीन वटा टोली मार्फत सामान पु¥याउन थालिएको गाउँपालिकाका नायब सुब्बा दयराम पौडेलले जानकारी दिनुभयो । बेगमा स्थानीय महिला सहकारीको भवन, भगवतीमा स्वास्थ्य चौकी भवन, पिप्लेमा पुरानो स्वास्थ्य चौकी भवन, दग्नाममा जनता माविको भवन, झिँमा सामुदायिक होमस्टे, पाखापानीमा ट्रेनिङ सेन्टर र सेवा केन्द्रको भवन, चिमखोलामा स्वास्थ्य चौकी भवन र कुईनेमंगलेमा रितुङ माविको नवनिर्मित भवनमा क्वारेनटाइन बनाईने गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरि गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोक्नको लागि सरकारले जारी गरेको लकडाउनको समयमा दैनिक खानाको समेत समस्या गुजारेका सर्वसाधारण नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी समेत गरेको छ । वडा कार्यालहरुको सिफारिसमा विहान बेलुकाको खानाको समेत अभाब हुने अबस्था आउन नदिनका लागि गरिब र विपन्नलाई सो सुविधा दिईने अध्यक्ष भण्डारीको भनाई छ ।

यसैबिच गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन जनचेतनामुलक अभियान संगै जनप्रतिनिधि, युवा, आमा समुह लगायतको माध्ययमबाट हरेक वडामा पछिल्लो दुई सातायता विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गर्ने कार्यक्रमलाई समेत अघि बढाएको स्वास्थ्य संयोजक टिकाबहादुर शाहीले जानकारी दिनुभयो । हरेक स्वास्थ्य संस्थामा विरामीको चेकजाँच गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि १७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) समेत खरिद गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कोरोनाको संक्रमण रोक्न जिल्ला स्तरीय विपद व्यवस्थापन कोषमा रु २ लाख ५० हजार सहयोग गर्ने जनाएको छ ।