पर्यटकीय सम्भावना बोकेको दुर्गम क्षेत्र बगर गाउँमा सोलारबाट विद्युतिकरण

  • २९ कार्तिक २०७६, शुक्रबार
  • 3570 पटक पढिएको

 

म्याग्दी२९ कात्तिक । म्याग्दीको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतिकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतिकरण गरिएको हो ।७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरी लाभान्वित भएका वडा सदस्य बमबहादुर पुनले जानकारी दिए । परियोजना निर्माणमा धवलागिरी गाउँपालिकाको ४० लाख अनुदान, अमेरिकाको गिभ पावर संस्थाको तीस लाख बराबरको उपकरण र प्राबिधिक सहयोग, उपभोक्ताको पाँच लाख रुपैयाँ लगानी भएको छ ।

उपभोक्ताले पोल गाड्ने, विद्युतगृहको भवन निर्माण, तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेका परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाले बताए । अमेरिकाबाट आएका गिभ पावर संस्थाका ११ जना सञ्चालक र कर्मचारीहरुले पनि दुई दिन श्रमदान गरेका थिए ।विद्युतिकरण भएपछि उज्यालोका साथै दैनिकिमा सहज भएको स्थानीय मिमकुमारी घर्तीले बताए । मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको उनले जानकारी दिए ।


यसअघि उज्यालोका लागि घरघरमा सोलार जडान गरेका थिए । बगर र जेल्तुङमा दुई वटा मिल सञ्चालन गर्ने तयारी गरिएको छ । गहुँ, मकै, कोदो, फापर पिढ्नका लागि मिल नहुँदा स्थानीयलाई समस्या छ ।यसैगरी फर्नीचर उद्योग पनि चलाउन लागिएको स्थानीय चित्र घर्तीले बताए । बगर म्याग्दीको विकट भुगोलमा अवस्थित बस्ति हो । नजिकको बस्ति खिवाङ र मुदीबाट बगर पुग्न भिर र जंगलमा पुरै दिन हिड्नुपर्छ ।बुधबार पहिलो पटक बिजुली बलेपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । बगरका पन्ध्र घरमा सोलार विद्युतिकरण योजनाको परिक्षण सफल भएको छ । एक हप्ताभित्र मिस्तुङ र जेल्तुङमा पनि बत्ति बालिसक्ने उपभोक्ता समितिले जनाएको छ ।

बगर धौलागिरि हिमालको प्रवेशद्धार (गेटवे) हो । बगर गाउँ भएर संसारको सातौ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । उर्जाको माध्यमबाट स्थानीयको दैनिकिमा सुधार र पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतिकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताए ।गिभभावर फाउण्डेशनमा आवद्ध लोनपालका अध्यक्ष टंगीशेराले सोलारको उज्यालोले गाउँलेको जिवनमा सुधार र मुहारमा खुसी ल्याउने विश्वास गरेका थिए । कारभालकी जोडी गुण्डरसनले विकट गाउँ झिलीमिली उज्यालो भएको देख्न पाएकोमा खुसी लागेको बताए ।

गिभ पावर फाण्डेशनको सहयोगमा गत वर्ष चेचुङ गाउँका २० घरमा ६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतिकरण गरिएको थियो । त्यहाँ सोलारको बिजुलीबाट पिसानी मिल सञ्चालन भएको छ ।तत्कालै केन्द्रीय प्रशारण लाइनको सम्भावना नभएको र लघुजलविद्युत परियोजना बनाउन लागत धेरै आवश्यक पर्ने भएकाले सोलारबाट विद्युतीकरण गरिएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताएका थिए ।

असारको गाउँसभाबाट बीस लाख बिनियोजन भएको बगर विद्युतीकरण योजनाका लागि गत वर्ष खर्च हुन नसकेको बजेटबाट थप बीस लाख थप गर्ने कार्यपालिकाबाट निर्णय गरेर योजना कार्यान्वयनमा लगिएको उनले बताए । सबै बस्तिलाई उज्यालो बनाउने उद्देश्य अनुसार बगरमा सोलारबाट विद्युतिकरण गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनले केन्द्रीय लाइन, लघुजलविद्युत र सोलारबाट पालिकाका सबै घरलाई उज्यालो बनाउने योजना कार्यान्वयनमा जोड दिएको बताए ।

विद्युतलाई प्रयोग गरेर आयआर्जनमुलक काम, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउन समुदायलाई अध्यक्ष पुनले आग्रह गरिन । सुरु भएको दुई महिनामै बिजुली बाल्न सफल भएकोमा खुसी व्यक्त गर्दै सबै घरमा जतिसक्दो छिटो बिजुली बाल्न उपभोक्ता समितिलाई निर्देशन दिएकी थिईन ।सिमकोस र जुरकुसमा घरघरमा सोलार जडान गर्न प्रदेश सरकारसंग समन्वय गरेको बताईन । ४८ वटा सोलार प्यानल जडान गरेर तारबाट घरघरमा विद्युत पु¥याइएको छ ।

२० वटा ब्याट्री, दुई वटा २५ केभीए क्षमताको ट्रान्सफर्मर, ५० वटा पोल र ६ किलोमिटर तार तानिएको गाउँपालिकाका प्राबिधिक बालकृष्ण पौडेलले बताए । भविष्यमा केन्द्रीय लाइन विस्तार गर्दा पनि प्रयोग गर्न मिल्ने गरि तार र पोल राखिएको छ ।भौगोलिक विकटताका कारण मुदीको सिमवाङबाट हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको थियो । सोलार प्यानल, ब्याट्री, तार, पोल र वायरीङका उपकरण भरिया मार्फत ढुवानी गरिएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष होम फगामीको अध्यक्षता र कैलाश आधारभूत विद्यालयका शिक्षक खिम बुढाथोकीले सञ्चालनमा भएको कार्यक्रममा कैलाश आधारभूतका प्रअ धनबहादुर पुर्जाले बगरको अवस्था, सम्भावना, समस्याको बारेमा जानकारी गराएका थिए । सन्तोष गौतम