म्याग्दीको पर्यटकीय पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)

  • ३० आश्विन २०७४, सोमबार
  • कमल खत्री
  • 5389 पटक पढिएको

म्याग्दी, घोडेपानी ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा पर्यटकको घुईचो लागेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृष्य अवलोकन गर्न आएका पर्यटकको घुईचो लागेको हो ।

समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । सरद ऋतुको सुरुवातसंगै पुनहिलको प्रवेशद्धारमा पर्ने घोडेपानीमा रहेका होटलहरु पर्यटकको आगमन बृद्धि संगै भरिभराउ भएका छन् ।

दैनिक २५० जना बाह्य र त्यतिकै संख्यामा आन्तरिक पर्यटक भ्रमणमा आउने गरेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख विरेन्द्र महतोले बताउनुभयो । कार्यालयका अनुसार, वि.स.२०७४ वैशाख देखि भदौसम्म १४ हजार २३४ जना विदेशी पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।


असोज महिनाको २८ गतेसम्म ५ हजार ८३५ विदेशी पर्यटक घोडेपानी क्षेत्रमा भित्रिएका छन् । तथ्याङ्क नराखिएपनि काठमाण्डौ, चितवन, पोखरा लगायत देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकहरुको चाप समेत बढेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो । ‘‘ नेपालीहरुमा घुम्ने संस्कारको विकास, यस क्षेत्रको प्रचार प्रसारले आन्तरिक पर्यटक बढ्नेक्रम जारी छ’’–बुद्धुजाले भन्नुभयो ।

कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा भएर घोडेपानी पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटकहरु सुर्योदय र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन एकाविहानै करिब एक घण्टा पैदल हिँडेर पुनहिल पुग्दछन् । पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक ७०० जना क्षमताको २२ वटा होटलहरु सञ्चालनमा छन् ।

पर्यटकको आगमन बढ्दै गएपछि परम्परागत होटलहरुलाई आधुनीकीकरण, सुविधा थप र क्षमता विस्तार भैरहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशिल पुनले बताउनुभयो । घोडेपानीमा बास बस्न दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँ सम्म न्युनतम बजेट आवश्यक पर्छ ।

घना गुँरासे जंगलको बिचमा रहेको थुम्कोमा अवस्थित पुनहिलबाट सूर्योदयका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गुर्जा, चुरेन, निलगिरि लगायतका १६ वटा हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ । नवलपरासीको गैडाकोटबाट कलेजका ६० जना साथिहरुसंगै भ्रमणमा आएकी रजनी विश्वकर्माले पदयात्राको क्रममा भएको थकान र दुःखलाई पुनहिलको सौन्दर्यले भुलाएको अनुभव सुनाउनुभयो ।

सूर्योदय, पहाडी भूगोल, शान्त वातावरण र दर्जनौ मनोरम हिमशृङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा आफु दंग परेको थाईल्याण्डबाट आएकी मेरिनाले बताउनुभयो । असोज –कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम हो । पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पाखाभरी ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको थप आकर्षण हो ।

पोखरादेखि नजीक र छोटो अवधिमा भ्रमण गर्न सकिने भएकाले घोडेपानी पुनहिल पर्यटकको रोजाईमा परेको पथप्रदर्शक अमृत सुवेदीले बताउनुभयो । पोखरादेखि नयाँपुल हुँदै तिखेढुंगासम्म सवारी साधन र त्यहाँबाट पदयात्रा गरि एक दिनमा घोडेपानी पुगिन्छ । घोडेपानी घान्द्रुक भएर धेरैजसो पर्यटक अन्नपूर्ण बेसक्याम्प सम्म पुग्ने गरेका छन् ।

स्थानीयबासीले घोडेपानी हुँदै पुनहिल पुग्नको लागि पदमार्ग निर्माण गरेका छन् । पुनहिलका संस्थापक स्वर्गीय टेकबहादुर पुनको स्मृतिमा भ्युटावर निर्माण भएको छ । गाउँका विभिन्न नाकामा प्रवशेद्धार बनाएका छन् । पूर्ण सरसफाईयूक्त गाउँ घोषित घोडेपानीको आमा समुहले मासिक रुपमा पदमार्गलाई सरसफाई र मर्मत गर्छन् ।

पर्यटकलाई आकर्षित गर्न पुन मगरहरुको ऐतिहाँसिक र साँस्कृतिक पहिचान झल्काउने मगर संग्रहालय सञ्चालन गरिएको आमा समुहकी उपाध्यक्ष ललिता पूर्जाले बताउनुभयो । पुर्जाका अनुसार, पुनहिल प्रवेशद्धार, पुनहिल, र बिच बाटोमा सत्र लाख रुपैयाँको लागतमा तीन वटा सार्वजनिक शौचालय निर्माण सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संग सहकार्य गरेर गुँरास संरक्षण अभियान सञ्चालन गरिएको छ । एक्यापले गरेको अध्ययन अनुसार, १६ प्रजातीका गुँरास पाईने यहाँको गुराँसे जंगललाई एसियाकै ठुलो भएको दावी गरिएको छ । यहाँ प्लाष्टिक र प्लाष्टिककै पानीका बोतल प्रयोगमा प्रतिबन्ध लगाईएको छ ।

समुदायकै पहलमा सामुदायिक क्लिनिक, शुद्ध खानेपानी सञ्चालन गरिएको छ । भौगोलिक रुपमा विकट भएपनि टेलिफोन, मोवाईल र इन्टरनेट सुविधा उपलब्ध छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l